तपाईँ सुन्दै हुनुहुन्छः

एमाले धनकुटाद्वारा राईलाई एकल सिफारिस

'इतर पक्ष असन्तुष्ट'

धनकुटा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको उमेदवारको लागि नेकपा एमाले धनकुटाले राजेन्द्र कुमार राईलाई सिफारिस गरेको छ।

आइतबार एमाले धनकुटाको बैठकले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री समेत रहनुभएका राईलाई उमेदवारको लागि धनकुटाबाट एकल सिफारिस गरेको हो। राईको नाममा प्रदेश निर्वाचन क्षेत्र क र ख बाट बहुमतले एकल सिफारिस भएर आएपछि जिल्ला कमिटीको विस्तारित बैठकले राईलाई मात्रै सिफारिस गरिएको नेकपा एमाले धनकुटाका सचिव पर्शुराम नेपालले जानकारी दिनुभयो।

धनकुटाबाट पूर्व केन्द्रीय सदस्य शकुन्तला बस्नेत र कोशी प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ पनि आकाङ्क्षी रहनु भएपनि राईलाई बहुमतले एकल सिफारिस गरेको हो। बस्नेत र चेम्जोङको सहमति बिना राईलाई जिल्ला सिफारिस गरेको सो पक्षले जनाएको छ। सहमतिमा तीनै जनाको नाम सिफारिस गर्न असन्तुष्ट पक्षले माग गरेका छन्। चेम्जोङ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन धनकुटा क्षेत्र नं १ बाट निर्वाचित हुनु भएको थियो।

केन्द्रमा केपी ओली समूहकै भएपनि धनकुटामा राई पक्ष र इतर पक्षले भिन्दाभिन्दै समूह चलाउँदै आएका छन्। इतर पक्षलाई प्रदेश सचिवालय सदस्य इन्द्रमणी पराजुली समूह भन्ने गरिएको छ। पराजुली समूहमा पूर्व केन्द्रीय सदस्य बस्नेत, प्रदेश उपाध्यक्ष चेम्जोङ, केन्द्रीय सदस्य तारा तितुङ लगायतका नेताहरू रहेका छन्। राई समूहमा जिल्ला कमिटीका पदाधिकारी तथा बहुमत सदस्य रहेका छन्।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पराजित हुनुभएका राई २०७४ र २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित हुनुभएको थियो। २०७० सालमा तत्कालीन राप्रपाका सुनिलबहादुर थापासँग तत्कालीन धनकुटा क्षेत्र न २ बाट पराजित भएका राईले २०७४ र २०७९ मा थापालाई पराजित गर्नुभएको थियो। २०७० मा उहाँहरू एकल एकल भिड्नुभएको थियो भने २०७४ मा राईलाई तत्कालीन माओवादीको साथ थियो भने थापालाई कांग्रेस जसपाको साथ रहेको थियो। यस्तै २०७९ मा राई एमालेबाट चुनावी मैदानमा हुनुहुन्थ्यो भने थापालाई माओवादी, एस, जसपाको साथ रहेको थियो। प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएको राईको यो चौथो पटक हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button