जाँचबुझ आयोगलाई केपी शर्मा ओलीको लिखित जवाफ
काठमाडौँ । ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान बुझेको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ तथा अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आइतबार ओलीको लिखित जवाफ लिएको हो।
यसअघि आयोगमा उपस्थित भएर बयान नदिने बताउँदै आउनुभएका ओलीको निवास गुन्डुमा आयोगको टोली पत्रसहित पुगेको थियो। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओलीले घटनासम्बन्धी लिखित जवाफ आयोगलाई बुझाउनुभएको छ।
प्रवक्ता शर्माले भन्नुभयो, “उहाँको लिखित बयान प्राप्त भएको छ। अब बयानको अध्ययन गरेर स्थानहदसहित विषयमा निर्णय गरिनेछ। साथै आयोगले प्रतिवेदन लेखन कार्य पनि सुरु गर्नेछ।” ओलीले दिएको लिखित जवाफको विषयवस्तु भने सार्वजनिक नगरिएको शर्माले बताउनुभयो। “त्यो कुरा प्रतिवेदनमै समेटिन्छ,” उहाँको भनाइ थियो।
यसअघि असोज १२ गते आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गरेको थियो। आयोगको निर्णयअनुसार तत्कालीन प्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई आयोगको स्वीकृतिबिना काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिइएको थियो। हाल पूर्वगृहमन्त्री लेखकसहित केहीको स्थानहद फुकुवा भइसकेको छ।
मानव अधिकार आयोगले पनि लियो बयान
यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले पनि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीसँग बयान लिएको छ। आयोगको अनुसन्धान समितिले आइतबार अढाई घण्टासम्म ओलीसँग बयान लिएको हो।
आयोगका सदस्य तथा अनुसन्धान समिति संयोजक डा. लिली थापाका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तत्कालीन कार्यकारी प्रमुख तथा सुरक्षा परिषद्का अध्यक्षको हैसियतमा ओलीसँग प्रदर्शनसम्बन्धी विषयमा बयान लिइएको हो।








प्रतिक्रिया राख्नुहोस्