तपाईँ सुन्दै हुनुहुन्छः

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढ्दै गएको भन्दै लण्डनस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा कामका लागि प्रायोजक खोजिदिने नाममा नेपालीहरू ठगीमा पर्ने गुनासो बढ्दै गएको उल्लेख गरिएको छ। ठगीको गुनासो गर्नेहरूमध्ये नेपालबाट बेलायत आउन चाहने नेपालीको संख्या बढी रहेको दूतावासले जनाएको छ।

यसका साथै बेलायतमै रहेका तर रोजगारीको खोजीमा रहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ। ठगी गर्नेहरू कतिपय नेपालीमूलका व्यक्तिहरू नै रहेको र चिनजानकै नेपालीमार्फत तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्क गराइ ठगी गरिने घटनासमेत देखिएको दूतावासको भनाइ छ।

यस्ता किसिमका अपराध नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने भएकाले ठगीमा परेको खण्डमा नेपालका सम्बन्धित अनुसन्धान निकाय तथा बेलायतका स्थानीय प्रहरी र नेशनल एन्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी दिन दूतावासले सुझाव दिएको छ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायका लागि दूतावासले आवश्यक सहजीकरण गर्न तयार रहेको बताउनुभएको छ।

समस्यामा परेका नेपालीलाई दूतावासको आधिकारिक इमेल वा +४४–७४०४९३९२७४ नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button