तपाईँ सुन्दै हुनुहुन्छः

७ जना कृषक नगदसहित सम्मानित

धनकुटा । कृषि ज्ञान केन्द्र धनकुटाले १७७ मुरी धान उत्पादन गर्ने एक कृषकसहित अन्य सात जनालाई नगदसहित सम्मान गरेको छ । केन्द्रले एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषकलाई जनही नगदसहित सम्मानपत्रले सम्मान गरेको हो ।

६५ रोपनी क्षेत्रफलमा १७७ मुरी धान उत्पादन गरि प्रथम हुने धनकुटाको चौबिसे गाउँपालिका–५, स्थित सदमटारका यम लिम्बू, द्वितीय हुने १२ रोपनी क्षेत्रफलमा र ९ वटा ग्रीन हाउस हाइटेक टनेलमा व्यावसायिक तरकारी खेती गर्ने छथर जोरपाटी गाउँपालिका–५, स्थित बोक्रेकी डेगमाया लिम्बू र ८० रोपनी क्षेत्रफलमा अलैँची खेती गरि तृतीय हुने पाख्रीबास नगरपालिका–९, स्थित लिसुम्बाका हरिभक्त राई सम्मानित हुनुभएको हो । प्रथम, द्धितिय र तृतीय हुनेहरूलाई जनही ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो । 

यस्तै सान्त्वना हुनेहरू ४ रोपनी क्षेत्रफलमा टमाटर खेती र ५ रोपनी क्षेत्रफलमा आँप खेती गर्ने साँगुरीगढी गाउँपालिका–२, का लक्षिन्ध्वज लिम्बु, ३३ रोपनी क्षेत्रफलमा फलफूल खेती गरी खेर गइरहेको खेती सदुपयोग गर्ने धनकुटा नगरपालिका–८, का रत्नबहादुर राई, २१ रोपनी क्षेत्रफलमा टमाटर, कागती र सुन्तला खेती गरी आकाशको पानी सङ्कलन गरी सिचाई गर्ने सहिदभूमि गाउँपालिका–६, का गङ्गाराम राई र साढे १६ रोपनी क्षेत्रफलमा व्यवसायीक अकबरे खोर्सानी खेती गर्ने महालक्ष्मी नगरपालिका–४, का दिर्गबहादुर पौडेल रहनुभएको छ । उहाँहरूलाई जनही नगद २ हजार र सम्मान पत्र वितरण गरिएको थियो । 

केन्द्रका प्रमुख रानाका अनुसार केन्द्रको आ.व २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार उत्कृष्ट कृषकहरूलाई सम्मान गरिएको हो । 

सम्मानित हुनेहरूलाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ र कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले नगद र सम्मान पत्र वितरण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button