तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा ब्लड बैङ्क स्थापना हुने

धनकुटा  । जिल्ला अस्पताल धनकुटामा ब्लड बैङ्क स्थापनाको पहल सुरु भएको छ । वि.सं १९७० सालमा स्थापना भएको अस्पतालमा स्थापना भएको करिब १ सय १२ वर्षपछि विभिन्न निकायको सहयोगमा ब्लड बैङ्क स्थापनाको पहल सुरु भएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटा र गैर आवासीय नेपाली सङ्घको अगुवाइमा अस्पतालमा ब्लड बैङ्क स्थापना गर्न लागिएको हो । ब्लड बैङ्क स्थापनाका लागि गैर आवासीय नेपाली सङ्घबाट सङ्कलित रकम शुक्रबार सार्वजनिक गरिएको छ । जसमा गैर आवासीय नेपाली सङ्घबाट सङ्कलित ७ लाख १ हजार रुपैयाँ रहेको छ । यस्तै कार्यक्रममा ३२ हजार रुपैयाँ सङ्कलन भएको छ । 

धनकुटामा ब्लड बैङ्क स्थापना गर्न करिब २० लाख रुपैयाँ लाग्ने नेपाल रेडक्रस सोसाइटी धनकुटाका सभापति छत्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । धनकुटा अस्पतालले धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभाका सेवाग्राहीलाई नियमित स्वास्थ्य सेवा दिँदै आएको छ । हाल अस्पतालमा विशेषज्ञ सेवाहरू विस्तार हुँदै जाँदा रगतको माग समेत उल्लेख्य रूपमा बढेको रेडक्रसले जनाएको छ ।

विशेषगरी सुत्केरी महिला, बालबालिका, दुर्घटनाका घाइते तथा शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूका लागि समयमै रगत उपलब्ध गराउन नसक्दा विराटनगर र धरानसम्म जानुपर्ने बाध्यता रहेको छ । ब्लड बैङ्क स्थापना हुने भएपछि जिल्ला अस्पतालमा आउने रगतको आवश्यकता पर्ने बिरामीलाई सहज हुने भएको छ । 

अस्पताल स्थापना भएको वर्षौँसम्म पनि ब्लड बैङ्क नहुँदा रगतको आवश्यकता पर्ने बिरामी मारमा पर्दै आएका छन् । रगतको आवश्यकता सेना, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार तथा बिरामीका आफन्त वा अन्य व्यक्तिलाई गुहारेर पूर्ति गर्ने गरिएको छ । धनकुटा अस्पतालमा विशेषज्ञ सेवा सुचारु भइरहे पनि ब्लड बैङ्क नहुँदा समस्या हुँदै आएको छ । 

कार्यक्रममा बोल्दै पूर्व मन्त्री राजेन्द्र कुमार राईले आफूले सकेको सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button