तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा शनिबार नेवारी सांस्कृतिक उत्सव ‘झोः भ्वयः’ हुने

पोखरा । पोखरामा नेवारी सांस्कृतिक उत्सव ‘झोः भ्वयः’ (नेवारी पारम्परिक भोज) को चौथो संस्करण यही पुस १९ गते शनिबार आयोजना हुने भएको छ । भीमसेनटोल स्थित नेवा छेंमा हुने उक्त कार्यक्रममा १ हजार ५ सय भन्दा बढीको सहभागिता हुने गरी तयारी गरिएको नेवा: मिसा पुनः कास्कीका अध्यक्ष संगीता बज्राचार्यले आज (बिहीबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो ।

नेवारी समुदायको संस्कार, संस्कृति र खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तीन–तीन वर्षमा एकपटक झ्व भ्वय आयोजना गर्दै आएको बताउँदै उहाँले २०७२ सालदेखि उक्त कार्यक्रमलाई सुरु गरिएको उल्लेख गर्नुभयो ।

सांस्कृतिक मूल्य र परम्परागत खानपान युवापुस्तासम्म पुर्‍याउने लक्ष्य समेत राखिएको अध्यक्ष बज्राचार्यले बताउनु भयो । नेवारी समुदायका लागि सांस्कृतिक पहिचान मात्र नभई जाडो महिनामा अनिवार्य भोजको धार्मिक–सांस्कृतिक परम्परा समेत जोडिएको उहाँले बताउनु भयो ।

“हाम्रो फुड कल्चर, संस्कार र प्रचलन नयाँ पुस्ताले प्रत्यक्ष अनुभूति गर्न पाओस् भनेर कार्यक्रमलाई अझ प्रभावकारी बनाएका छौँ,”– अध्यक्ष बज्राचार्यले भन्नुभयो ।

शनिबार हुने उक्त झ्व भ्वयमा १ हजार ५ सय भन्दा बढी सहभागीलाई परम्परागत ढंगले स्वागत र भोज गराउने भएको छ । नेवार तथा गैरनेवार सबैका लागि खुला रहने कार्यक्रममा वासा सगुनबाट स्वागत गर्दै नेवारी पक्वानका सुकेला, ग्रेभीयुक्त, झोलिला परिकार क्रमशः खुवाइने भएको अध्यक्ष बज्राचार्यले बताउनु भयो ।

भोजसँगै निरन्तर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने संयोजक सोनी ढेवाजुले बताउनुभयो । नेवारी गीत–सङ्गीतमा विगत महिनाहरूमा चर्चामा रहनु भएको निसा देशार लगायत कलाकारहरूले प्रस्तुती हुने भएको छ ।

नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखेले झ्व भ्वय कार्यक्रमले नेवारी भाषा, संस्कार र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो । उक्त कार्यक्रम नयाँ पुस्ताका लागि नेवारी संस्कृतिको जीवन्त विद्यालय जस्तै रहेको उहाँको आशाय थियो ।

कार्यक्रमको मुख्य प्रायोजन फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टर गैह्रापाटनले गर्ने भएको छ । त्यस्तै विशेष सहयोगीका रुपमा पोखरा महानगरपालिका–९ को कार्यालय रहेको महासचिव किरण बिजुक्छेले बताउनुभयो । उक्त भोजमा सहभागी हुनको लागि प्रति व्यक्ति ८ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button