रौतहटमा ग्यास बुलेट दुर्घटना : २४ घण्टासम्म पनि खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
रौतहट। मंगलबार बिहान रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डअन्तर्गत दोस्रो लच्का नजिक ग्यास बोकेको बुलेट ट्याङ्कर पल्टिँदा अवरुद्ध बनेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग २४ घण्टा बितिसक्दासमेत सञ्चालनमा आउन सकेको छैन।
मंगलबार बिहान करिब पौने ८ बजे दुर्घटनाग्रस्त भएको ट्याङ्कर बुधबार बिहान पौने ८ बजेसम्म पनि हटाउन नसकिएको हो। ट्याङ्कर पल्टिएको झण्डै एक दिन बितिसक्दा पनि सुरक्षा निकाय, ट्राफिक प्रहरी तथा स्थानीय तहको संयुक्त प्रयासले अपेक्षित सफलता पाउन सकेको छैन।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरका अनुसार सरोकारवाला निकायहरूले छवटा किरण क्रेन प्रयोग गरी ट्याङ्कर हटाउने प्रयास गरे पनि हालसम्म ठोस प्रगति हुन सकेको छैन। निरन्तर ग्यास लिक भइरहेकाले प्राविधिक टोली परिचालन गरी लिक नियन्त्रणको प्रयास गरिएको उहाँले जानकारी दिनुभयो।
२१ टन क्षमताको ग्यास बुलेट ट्याङ्कर समयमै हट्न नसक्दा यात्रुबाहक तथा मालबाहक सवारीसाधनहरू राजमार्गमै अलपत्र परेका छन्। केही सवारीसाधन भने वैकल्पिक मार्ग प्रयोग गरी आवतजावत गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ बजे भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी–१७ एपी–२११४ नम्बरको ग्यास बुलेट ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा ट्याङ्कर चालक भारतको मधुवनी जिल्ला जयनगर निवासी ३७ वर्षीय पवन यादव घाइते भएका थिए। घाइते चालकको अवस्था सामान्य रहेको र सिभिल अस्पताल चन्द्रनिगाहपुरमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख थापा मगरका अनुसार हाल दुर्घटनाग्रस्त ग्यास बुलेटको लिकेज नियन्त्रणमा आइसकेको छ र केही बेरमै क्रेनको सहायताले ट्याङ्कर उठाउने तयारी भइरहेको छ। ट्याङ्कर हटाउन अझै एक–दुई घण्टा लाग्न सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्