तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीको आग्रह: शान्ति र दिगो लोकतन्त्रका लागि निर्वाचनमा सहयोग गरौँ 

काठमाडाैँ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ।

आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गर्नुभयो। 

मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिनुहुँदै उहाँले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पार्नुभयो। 

‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ ,’ उहाँले भन्नुभयो, ‘सबै खालका संशयहरूलाई चिर्दै मुलुक पूर्ण रूपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ।’

प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिनुभयो। 

‘हामी पनि न्यायका पक्षधर हौँ ,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘यहाँ सत्ताभोग र सुखसयल गर्न आएका होइनौँ। भ्रष्टाचारको अन्त्य, शोषित-पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ। सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशिला तयार पार्दै गएका छौँ। तपाईँले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ। अझै थप छलफल गर्दै जाऔँला।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button