धनकुटामा अलैँची उत्पादन बढ्यो

धनकुटा । धनकुटामा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन बढेपछि धनकुटामा अलैँचीको उत्पादन बढेको हो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ दशमलव ५२ प्रतिशतले अलैँची उत्पादन बढेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । धनकुटामा गत आर्थिक वर्षमा १ सय २७ हेक्टर क्षेत्रफलमा अलैँची खेती भएकोमा यस आर्थिक वर्षमा १ सय ३३ हेक्टर क्षेत्रफलमा अलैँची उत्पादन भएको थियो ।
जसमा धनकुटामा गत आर्थिक वर्षमा ४० दशमलव ३ मेट्रिक टन अलैँची उत्पादन भएकोमा यस आर्थिक वर्षमा ४२ दशमलव ६४ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले जानकारी दिनुभयो । धनकुटामा गत आर्थिक वर्षमा उत्पादकत्व प्रतिहेक्टर शून्य दशमलव ३२ रहेकामा यस आर्थिक वर्षमा पनि प्रतिहेक्टर शून्य दशमलव ३२ रहेको ज्ञान केन्द्रले जनाएको छ ।

यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र अलैँची खेती गरिएकामा पछिल्लो समय कृषकले अन्न बाली छाडेर करेसाबारीमा पनि अलैँची रोप्न रोप्दै आएका थिए । विभिन्न रोगको प्रकोपसँगै अलैँची बगान सखाप भएको र नयाँ बगानले उत्पादन दिन थालेकाले क्रमिक रूपमा उत्पादनमा सुधार हुँदै गएको छ ।
दानाबाट उत्पादन गरिएको निरोगी बिरुवाले उत्पादन पनि धेरै दिने र रोगको प्रकोपको सम्भावना पनि कम हुने भएकाले कृषकले विजु बिरुवा रोप्ने गरेको ज्ञान केन्द्रले जनाएको छ ।
अलैँची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैँची खेती धनकुटाका ७ वटै स्थानीय तहमा आंशिक रूपमा हुने गरेको छ । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची खेती समुद्र सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्