एमाले धनकुटाबाट ६ जनाको नाम सिफारिस, प्रदेशले नाम थप्दा धनकुटाको आपत्ति
धनकुटा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले धनकुटा जिल्ला कमिटीले ६ जनाको नाम सिफारिस गरेको छ।
३ महिलासहित ६ जनाको नाम सिफारिस गरेको एमाले धनकुटाले जनाएको छ। एमाले धनकुटाले सिफारिस गरेको उमेद्धवारहरुमा बिनादेवी राई, नैनबहादुर विश्वकर्मा, यज्ञकुमारी रुचाल, गणेशकुमार राई, खेमनाथ घिमिरे, मेनुका निरौला पौडेल रहनु भएको छ। एमाले धनकुटाले खस आर्य, जनजाति र दलित तर्फ एक महिला र एक पुरुषको नाम सिफारिस गरेको एमाले धनकुटा अध्यक्ष शिव आङ्लाले जानकारी दिनुभयो।
सिफारिस भएकामा बिनादेवी राई पूर्व केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ भने विश्वकर्मा एमाले धनकुटा उपसचिव रहनुभएको छ। यस्तै रुचाल र गणेश राई प्रदेश कमिटी सदस्य रहनुभएको छ भने घिमिरे र निरौला पार्टीका अग्रज नेता रहेको एमाले धनकुटाले जनाएको छ।
यता एमाले धनकुटाले सिफारिस गरेका छ जना बाहेक प्रदेश कमिटीले केन्द्रीय सदस्य मनकुमारी तितुङ ताराको नाम थपेर केन्द्रीय कमिटीमा पठाएको छ। तितुङ हालै सम्पन्न एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो। नाम थपिएसँग एमालेभित्र आन्तरिक विवाद र असन्तुष्टि बढेको छ। पार्टी प्रदेश कमिटीले पर्याप्त छलफल नगरी ‘सुटुक्क’ नाम पठाइएको भन्दै नेतृत्वको आलोचना गरेका छन्। पार्टीभित्र पर्याप्त छलफल तथा जिल्लाको सिफारिस अनुसार हुनुपर्नेमा त्यसो नभएको अध्यक्ष आङ्लाले बताउनु भयो। पार्टीभित्र विधि र पारदर्शिताको साटो नेतृत्वले ‘खल्तीबाट’ नाम छनोट गरेको असन्तुष्टहरूको भनाइ रहेको छ।
एमाले धनकुटाले ६ जनाको नाम पठाएकोमा प्रदेशले मनोमानी गरेको एमाले धनकुटाका अध्यक्ष आङ्लाले बताउनुभयो। प्रदेशले धनकुटासँग नामै नमागेको भएपनि सचिव पर्शुराम नेपालसँग सल्लाह गरेर नाम पाएको आङ्लाले बताउनुभयो। उहाँले प्रदेशले धनकुटा जिल्लाको अधिकार पटक पटक आफैँ प्रयोग गरेर कार्यकर्ता भन्दा नेता केन्द्रित बन्न खोजेको बताउनु भयो। उहाँले पहिले पार्टी सरकार हुँदा आयोग गठन गर्दा पनि जिल्लाको सिफारिस प्रदेशले इन्कार गरेको आङ्लाको भनाइ छ।
यता एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जिल्ला कमिटीले पठाएको नामावलीकै आधारमा आकाङ्क्षीको नाम पठाइएको हो। उहाँले प्रदेशले पनि केही थप्न पाउने अधिकार रहेकोले प्रदेशले पार्टीका सिनियर नेता र पार्टीमा योगदान गरेकाहरूको नाम थपेर पठाएको खतिवडाले बताउनु भयो। उहाँले जिल्लालाई सिफारिस गर्न सर्कुलर गरेको र जिल्लाले पठाएको सिफारिस सुरक्षित रहेको बताउँदै आवश्यक परेमा देखाउन तयार रहेको बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्