तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा जाडो: मौसमी रोगका बिरामीको चाप बढ्दै

रौतहट । रौतहटसहित मधेश प्रदेशका विभिन्न जिल्लामा विगत एक सातादेखि हुस्सु र शीतलहर बढ्दै जाँदा जाडो तीव्र बनेको छ ।

जाडो बढेसँगै त्यसको प्रत्यक्ष असर सर्वसाधारणको स्वास्थ्यमा देखिन थालेकोमा स्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । जाडोका कारण उत्पन्न हुने विभिन्न मौसमी रोगका बिरामीको सङ्ख्या अहिले सरकारी तथा निजी स्वास्थ्य संस्थामा दिनदिनै बढ्दै गएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्य संस्थाहरूका अनुसार पछिल्ला दिनमा रुघाखोकी, ज्वरो, फ्लु, दम, निमोनिया, नाक–कान–घाँटीसम्बन्धी समस्या, श्वासप्रश्वाससम्बन्धी रोग तथा उच्च रक्तचापका बिरामीहरू उल्लेख्य रूपमा बढेका छन् । विशेषगरी बालबालिका, वृद्ध/वृद्धा र दीर्घरोगीहरू जाडोका कारण बढी प्रभावित भएको देखिएको सिम्स अस्पतालका प्रमुख डाक्टर रामकिशोर साहले जानकारी दिनुभयो ।

डाक्टर साहले जाडो बढे सँगै अस्पतालमा आउने बिरामीको चाप बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक रूपमा जाडोसँग सम्बन्धित रोगका बिरामीहरू बढी आउने गरेका छन् । “विशेषगरी श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ,” उहाँले बताउनुभयो ।

चिसो मौसम, हुस्सु तथा धुलो–धुवाका कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको डाक्टर साहले जानकारी दिनुभयो । जाडोबाट जोगिन सर्वसाधारणले विशेष सावधानी अपनाउनुपर्ने उहाँको सुझाव छ । “धुलो र धुवाबाट जोगिनु, तातो र झोलिलो खाना खानु, न्यानो कपडा लगाउनु तथा अत्यधिक चिसोमा अनावश्यक रूपमा बाहिर हिँडडुल नगर्नु राम्रो हुने उहाँले बताउनुभयो ।

जाडो बढेसँगै गाउँ–टोलमै रुघाखोकी, ज्वरो र दमका बिरामी बढ्दै गएको स्थानीय बासिन्दाहरू बताएका  बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button