एमडी/एमएस अध्यापन गुणस्तर सुधार्न भेरी अस्पतालमा ‘विशेष तालिम’

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा तीन दिने फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम आजदेखि सुरु भएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रम पुस १४ गते सोमबारसम्म सञ्चालन हुनेछ ।
भेरी अस्पताल विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शिक्षण अस्पतालको रूपमा विकास भएसँगै पठन–पाठनमा संलग्न चिकित्सकहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
हाल भेरी अस्पतालमा एमडी÷एमएस कोर्सको अध्यापन सुरु भइसकेको छ । अस्पतालमा सुरु भएको फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम एमडी÷एमएस तहका विद्यार्थीलाई अध्यापन गराउने प्राध्यापक तथा वरिष्ठ चिकित्सक लक्षित रहेको छ ।
कार्यक्रममा स्नातकोत्तर तहका विद्यार्थीलाई प्रभावकारी रूपमा पढाउने सीप विकासमा जोड दिइनेछ ।
कार्यक्रममा मुख्य रूपमा आधुनिक अध्यापन विधि, पाठ्यक्रम अनुसारको परीक्षा प्रणाली र मूल्याङ्कन विधि, थेसिस तथा अनुसन्धान निर्देशन, क्लिनिकल तथा एकेडेमिक एथिक्स, विद्यार्थी–प्राध्यापकबीच प्रभावकारी समन्वय र संवाद कौशल लगायत विषयमा प्रशिक्षण दिइने बताइएको छ ।
आज आयोजित उद्घाटन समारोह न्याम्सका मेडिकल एजुकेशनका भेरी अस्पताल फोकल पर्सन समेत रहनुभएका प्रमुख कन्सल्टेन्ट फिजिसियन सह–प्रा.डा.राजन पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि न्याम्सका उपकुलपति डा.भूपेन्द्र कुमार बस्नेत, विशिष्ट अतिथि रजिष्ट्रार तथा सह–प्राध्यापक डा. ज्ञानेन्द्र शाह, डिन प्रोफेसर अशेष ढुङ्गाना, मेडिकल एजुकेशन बोर्डका अध्यक्ष प्रोफेसर डा.सन्ध्या चापागाईँ लगायतको उपस्थिति रहेको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीका अनुसार अस्पतालमा कार्यरत ३० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले उक्त कार्यक्रममा प्रशिक्षण लिइरहेका छन् ।
फ्याकल्टीका आधारमा रेसिडेन्ट चिकित्सक (आवासीय) अस्पतालमा आएर अध्ययन तथा प्रशिक्षण कार्य सुरु गरिसकेको डा. सुवेदीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्