निर्वाचन आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ का बारेमा जानकारी दिन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ ।
आयोगमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको उद्घाटन गर्नुभएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन सूचना तथा सन्देश सार्वजनिक गर्न केन्द्र स्थापना गरेको जानकारी गराइएको हो ।
केन्द्रमा समन्वयात्मक रूपमा कार्य गर्ने गरी निर्वाचन सूचना तथा सञ्चार केन्द्र, सूचना सदाचार प्रवर्द्धन एकाइ र विद्युतीय मतदाता शिक्षा एकाइ गरी तीन वटा एकाइ रहेको जानकारी गराइयो । आयोगले आजैदेखि पत्रकारलाई निर्वाचनसम्बन्धी साप्ताहिक रूपमा जानकारी दिने गरी पत्रकार सम्मेलन सुरु गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन तथ्यपरक र आधिकारिक सूचनाको प्रभावकारी सम्प्रेषण गरिनुपर्ने बताउनुभयो । यसका लागि केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो ।
निर्वाचनका क्रममा सामाजिक सञ्जालमा हुने मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिलाई रोक्न र आयोगका सूचना निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षासम्बन्धी सचेतनामूलक सामग्री सम्प्रेषण गर्न केन्द्रले काम गर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो ।

आयोगका गतिविधि र सूचनालाई तत्काल एवं सही रूपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउनुहुँदै उहाँले सञ्चारमाध्यमले स्वनियमन र स्वनियन्त्रणको मान्यतालाई ध्यान दिएर स्वच्छ निर्वाचन गराउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणा भएपछि देखि हालसम्म आयोगले गरेका मुख्य मुख्य काम र निर्वाचन पूर्व तयारीका सम्बन्धमा प्रस्तुति गर्दै यसअघिको निर्वाचनपछि मौज्दात रहेका सामग्री प्रयोग गरेर बाँकी मात्र खरिद गर्न लागिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्