तपाईँ सुन्दै हुनुहुन्छः

इतिहास, प्रकृति र सम्भावनाको संगम: चित्लाङ हिलस्टेसनतर्फ बागमती प्रदेशको नयाँ यात्रा

मकवानपुर । इतिहास बोकेको, प्रकृतिले सजिएको र संस्कृतिले समृद्ध बागमती प्रदेशको गौरव—मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङ।

काठमाडौँको कुल जनसङ्ख्याको एक प्रतिशत मात्र मानिस यहाँ भित्रिए पनि स्थानीय अर्थतन्त्रमा ठूलो उथलपुथल ल्याउन सक्ने सम्भावना बोकेको यो वडा आज पनि रहस्य, सौन्दर्य र इतिहासको संगम बनेर उभिएको छ।

राणा शासनकालदेखि दार्शनिक, साधुसन्त र व्यापारीसम्मको यात्रा गन्तव्य बनेको चित्लाङ केवल एउटा पर्यटकीय गाउँ मात्र होइन, नेपालको समृद्ध इतिहास बोकेको जीवन्त सङ्ग्रहालय हो। चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी हुँदै हेटौँडा र वीरगञ्ज–रक्सौल जोड्ने यो मार्ग कुनै समय भारत र नेपालको दक्षिणी भू-भागलाई काठमाडौँ उपत्यकासँग जोड्ने प्रमुख व्यापारिक नाका थियो। खाद्यान्न, लत्ता–कपडा ओसारपसारदेखि पशुपतिनाथ दर्शनका लागि आउने साधुसन्तहरूको सांस्कृतिक यात्रासम्म यो बाटो निरन्तर चलायमान रहन्थ्यो। जुनसुकै बेला मानिस आवतजावत गर्ने भएकाले चित्लाङमा चौबीसै घण्टा पसल खुला रहने चहलपहल थियो।

त्रिभुवन राजपथ निर्माण हुनुअघि चित्लाङ नै भारत–काठमाडौँ जोड्ने एक मात्र “पैदल राजमार्ग” थियो। सवारीसाधनलाई मानिसले बोकेर ओहोरदोहोर गरिन्थ्यो—संसारमै विरलै पाइने यो ऐतिहासिक तथ्य चित्लाङको विशिष्ट पहिचान हो। त्यतिबेला श्री ३ राणा र श्री ५ सरकारका लागि छुट्टै बासस्थान निर्माण गरिनु चित्लाङको रणनीतिक र ऐतिहासिक महत्वको प्रमाण हो।

आज पनि चित्लाङका काठ र ढुङ्गामा कुँदिएका मन्दिरहरू, कलात्मक पाटी–पौवा, ढुङ्गेधारा र शताब्दीयौँ पुराना शिलालेखहरूले यहाँ प्राचीन सभ्य समाज फस्टाएको स्पष्ट सङ्केत गर्छन्। माझगाउँमा रहेको अशोक चैत्य (ई.पू. २७३)—नेवार भाषामा चिभाःद्य—यस क्षेत्रको ऐतिहासिक गहिराइको ज्वलन्त प्रमाण हो। टुपिखेल, कलाटु, भञ्ज्याङ, कपुगाउँलगायत स्थानमा समुदायको सक्रियतामा निर्माण गरिएका चैत्य, साथै स्वच्छन्द भैरव, तलेजु भवानी, महालक्ष्मी, चम्पाकेश्वर महादेव, त्रिलिङ्गेश्वर महादेव, कालीदेवी, जलदेवी, लक्ष्मीनारायणलगायत मन्दिरहरूले चित्लाङलाई धार्मिक–सांस्कृतिक केन्द्रको रूपमा चिनाउँछन्।

हरियाली जङ्गलले घेरिएको चित्लाङमा १६० भन्दा बढी प्रजातिका चरा तथा वन्यजन्तु पाइन्छन्। एक हजारभन्दा बढी स्याउका रूख रहेको विशाल एप्पल गार्डेन र त्यसबिच बनेका कटेजहरूले पर्यटकलाई प्रकृतिसँग नजिकको अनुभव गराउँछन्। अर्ग्यानिक जीवनशैलीमा रमाएको चित्लाङ वास्तवमै एउटा अर्ग्यानिक गाउँ हो।

होमस्टे व्यवसायले पहिचान बनाइसकेको यस क्षेत्रमा निर्माणाधीन मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्थानीयवासीमा नयाँ आशा जगाएको छ। यद्यपि, विकाससँगै विनाश नहोस् भन्ने चिन्ता यहाँका नागरिक, सामाजिक अभियन्ता र अगुवाहरूको साझा आवाज बनेको छ।

“पर्यटन भनेको बेच्ने क्षेत्र हो, यसलाई जति प्रभावकारी रूपमा प्रवर्द्धन र बिक्री गर्न सक्यौँ, त्यति नै समग्र आर्थिक विकास सम्भव हुन्छ,”थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टका अनुसार, बागमती प्रदेश स्थापना भएपछि दूरदर्शी सोचका साथ तत्कालीन प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएका भ्युटावरहरू ‘पर्यटनको पूर्वाधार विकास नै समग्र विकासको आधार हो’ भन्ने नीतिअनुसार निर्माण अगाडि बढाइएको हो। तर केही प्राविधिक कारण यसको पूर्णता पाएको छ। र यही नीतिका आधारमा बागमती प्रदेश सरकारले चित्लाङको पर्यटन सम्भावनालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको स्थिर सरकार बनेपछि, विगतमा अलमलमा परेका संरचनाहरूले गति लिएका छन्। प्रदेश स्थापना भएदेखि सुरु भएर अधुरा रहेका संरचनाहरू कसको पालामा सुरु भयो भन्ने नहेरी पूर्णता दिने अभियानमा सरकार लागेको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बताउनुभयो।

सोही अन्तर्गत ‘चित्लाङ हिलस्टेसन प्याकेज’ कार्यक्रममार्फत कुल ५ करोड २७ लाख ४७ हजार रुपैयाँ लागतमा निर्माण गरिएको भ्युटावर तथा सहायक संरचनाहरू (२०७७ र २०८० का दुई प्याकेज) लामो समय प्रयोगविहीन रहे। व्यवस्थापनको कार्यविधि नबन्दा अन्योलमा परेको उक्त संरचना गत साता मात्रै थाहा नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

सम्झौताअनुसार भ्युटावरबाट हुने आम्दानीको ७० प्रतिशत थाहा नगरपालिका र ३० प्रतिशत बागमती प्रदेश सरकारको राजस्व खातामा अर्धवार्षिक रूपमा जम्मा हुनेछ। यो संरचना पर्यटन प्रवर्द्धनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ। मुख्य टावरसँगै क्रिएसन हल, शौचालय, गेट, गार्ड हाउस र रिटेनिङ वाल निर्माण भइसकेका छन्, र एक पटकको मर्मतसम्भार प्रदेश सरकारले बेहोर्ने सहमति पनि गरिएको छ।

प्रदेश सरकारले हालसम्म ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण गरिसकेको छ, जसमा चित्लाङसहित ५ वटा सञ्चालनमा आएका छन्। बाँकी संरचनाहरू पनि क्रमशः स्थानीय तहलाई हस्तान्तरण हुँदैछन्।

इतिहास, प्रकृति र सम्भावनाको त्रिवेणी चित्लाङ अब केवल सम्झनाको गन्तव्य होइन—दिगो पर्यटन र स्थानीय समृद्धिको नयाँ केन्द्र बन्दै अघि बढिरहेको छ। सही व्यवस्थापन, संवेदनशील विकास र प्रभावकारी प्रवर्द्धनका साथ चित्लाङलाई साँच्चै नै छुट्टै, नौलो र आकर्षक पहिचान दिलाउन सकिने आधार बलियो बन्दै गएको संस्कृति पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले बताउनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button