तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा सूफी सन्त खलिफा नुर अहमद शाहको उर्स मेला सुरु

बाँके ।हिन्दु–मुस्लिम समुदायबीचको एकता, सद्भाव र आपसी सम्मानको प्रतीकका रूपमा चिनिएको नरैनापुर गाउँपालिका–२ स्थित सूफी सन्त हजरत खलिफा नुर अहमद शाहको समाधि स्थलमा परम्परागत धार्मिक मेला शनिबार रातिबाट सुरु भएको छ।

पछिल्ला १५१ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो मेलाले नरैनापुरलाई धार्मिक सहिष्णुताको केन्द्रका रूपमा स्थापित गरेको छ। जात र धर्मको सीमाभन्दा माथि उठेर आयोजना हुने मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट हिन्दु–मुस्लिम श्रद्धालुहरूको सहभागिता रहेको छ।

मेलाको उद्घाटन नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गर्नुभयो। उद्घाटन समारोहमा उहाँले खलिफा नुर अहमद शाहको समाधि स्थल, सन्तानेश्वर र बर्फानी बाबा लगायतका धार्मिक स्थललाई समेटेर नरैनापुरलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो। उहाँले यो मेला धार्मिक कार्यक्रम मात्र नभई सामाजिक सद्भावको सन्देश भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत भरत महतोले समाधिमा आउने श्रद्धालुहरूको मनोकामना पूरा हुने जनविश्वासका कारण प्रत्येक वर्ष मेलामा सहभागिता बढ्दै गएको बताउँदै व्यवस्थित व्यवस्थापन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

नरैनापुर–२ का वडाध्यक्ष मसुद अहमद शाहका अनुसार प्रत्येक वर्ष माघ महिनामा समाधि विकास समितिको आयोजनामा खलिफा नुर अहमद शाहको उर्स मेला भव्य रूपमा मनाइँदै आएको छ।

मेलाका संयोजक गुफरान अहमद शाहले सात दिनसम्म धार्मिक प्रवचन, फातिहा, नियाज तथा अन्य धार्मिक गतिविधि सञ्चालन हुने जानकारी दिनुभयो। मेलामा धर्मगुरुको भूमिका डा. सैयद वकास अहमद शाहले निर्वाह गरिरहनुभएको छ।

नेपालगञ्जदेखि करिब ४७ किलोमिटर पूर्वमा रहेको यो समाधि स्थल वर्षेनी ठूलो संख्यामा श्रद्धालुको गन्तव्य बन्दै आएको छ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारकी निवर्तमान प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमुना’, वडा नम्बर १ का वडाध्यक्ष इसाक जोलाह, गाउँपालिकाका प्रेस विज्ञ आलम खान, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button