तपाईँ सुन्दै हुनुहुन्छः

जानकी गाउँपालिकामा एसईई तयारी तीव्र, प्रि–टेस्टबाट विद्यार्थीको स्तर पहिचान

बाँके। बाँकेको जानकी गाउँपालिकाका विद्यालयहरूमा एसईई तयारी तीव्र बनेको छ । विद्यार्थी अभ्यासमा व्यस्त छन् भने शिक्षकहरू नतिजा सुधारका रणनीतिमा जुटेका छन् । यस क्रममा गाउँपालिकाको शिक्षा शाखाले सञ्चालन गरेको प्रि–टेस्ट परीक्षा विद्यार्थीको वास्तविक शैक्षिक अवस्था मापन गर्ने प्रभावकारी माध्यम बनेको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिन अन्सारीका अनुसार गत वर्षको एसईई नतिजा सन्तोषजनक नभएपछि यस वर्ष बजेट छुट्याएर गुणस्तर सुधारको अभियान सुरु गरिएको हो । प्रि–टेस्टजस्ता कार्यक्रमले सिकाइ सुधारमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ । विद्यार्थीको क्षमता फरक हुने भएकाले स्तर पहिचानका लागि परीक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।

सामाजिक विकास समिति संयोजक राम अचल धोबीले प्रि–टेस्टले नतिजा मात्र होइन, सिकाइ प्रक्रियालाई व्यवस्थित बनाएको उल्लेख गर्नुभयो । शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारीका अनुसार यस वर्ष जानकी गाउँपालिकाबाट २७९ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।

सहायक शिक्षा अधिकृत झुमी कुमारी वलीले परीक्षाले पाठ्यक्रम, शिक्षण विधि र अनुगमनमा सुधार आवश्यक क्षेत्र देखाउने बताउनुभयो । विद्यालय तहमा पनि प्रि–टेस्ट प्रभावकारी देखिएको छ । जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्रबहादुर रावतका अनुसार प्रि–टेस्टपछि विशेष कक्षा र अतिरिक्त अभ्यास सञ्चालन गरिएको छ ।

प्रि–टेस्टमा सहभागी विद्यार्थी राजेन्द्र काँदुले यसले कमजोरी पहिचान गर्न र एसईईको डर कम गर्न मद्दत गरेको बताउनुभयो । प्रि–टेस्ट परीक्षा विद्यार्थी, शिक्षक र विद्यालयका लागि तयारीको महत्वपूर्ण आधार बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button