तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका तीन स्थानीय तहमा हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियान तीव्र

बाँके।हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान प्रभावकारी बनाउन बाँकेका तीन स्थानीय तहले विशेष चासो देखाएका छन्। अभियान सफल बनाउन जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई समन्वय गरी परिचालन गरिएको स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले जानकारी दिनुभयो।

महतोका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिकाका सबै वडा तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १६औँ चरणको हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सञ्चालन भइरहेको छ।

स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर रत्नलाल शर्माका अनुसार अभियान सुरु भएको एक सातामा नरैनापुर गाउँपालिकामा ४४ हजार ८ सय ५८ जनालाई औषधि खुवाउने लक्ष्य लिइएकोमा २५ हजार ८ सय १९ जनाले औषधि सेवन गरिसकेका छन्। डुडुवा गाउँपालिकामा ४४ हजार ५ सय ५२ जनाको लक्ष्यमा १० हजार १ सय ३१ जनाले औषधि सेवन गरेका छन्।

त्यस्तै, बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा ९ हजार ७ सय ४२ जनालाई औषधि खुवाउने लक्ष्य लिइएकोमा १ हजार ३ जनाले औषधि सेवन गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिकामा गत बिहीबारदेखि सुरु भएको अभियानमा १ लाख ७१ हजार ७ सय ७४ जनाको लक्ष्यमा ६ हजार ४ सय १० जनाले औषधि सेवन गरेको जानकारी दिइएको छ।

गत वर्षको तुलनामा यस वर्ष औषधि सेवन गर्नेको संख्या बढ्दै गएको उल्लेख गर्दै शर्माले अभियान अझै २० दिन सञ्चालन हुने भएकाले लक्ष्य हासिल हुने विश्वास व्यक्त गर्नुभयो।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत महतोले अघिल्ला वर्षमा जनचेतनाको कमी र औषधिबारे गलत धारणा कारण लक्ष्य हासिल गर्न कठिनाइ भएको बताउँदै यस वर्ष व्यापक जनचेतनामूलक कार्यक्रमसहित अभियान सञ्चालन गरिएकोले सफल हुने दाबी गर्नुभयो।

अभियानलाई प्रोत्साहन गर्न नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट स्वयं नेपालगञ्ज–३ मा पुगेर औषधि सेवन गर्दै आम नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गर्नुभएको थियो।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार स्वास्थ्यकर्मी, नर्सिङ क्याम्पसका विद्यार्थी, महिला स्वयंसेविका र धार्मिक अगुवासँग सहकार्य गरी अभियान सञ्चालन गरिएको छ। यस्तै, औषधि सेवन नगरे सरकारी सेवाबाट वञ्चित गरिने व्यवस्था लागू गरिएको जनस्वास्थ्य अधिकृत बिनोद बिकले जानकारी दिनुभयो। सरकारी सेवा लिन आउने सेवाग्राहीले औषधि सेवन गरेको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार हालसम्म गाउँपालिकामा करिब ५८ प्रतिशत नागरिकले औषधि सेवन गरिसकेका छन्।

स्वास्थ्यकर्मीहरूका अनुसार पोथी लामखुट्टेको टोकाइबाट शरीरमा प्रवेश गर्ने फाइलेरिया परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्छ। यो परजीवी लामो समय शरीरमा सुषुप्त अवस्थामा रहन सक्ने भएकाले निरन्तर कम्तीमा ६ वर्ष औषधि सेवन गर्न आवश्यक हुन्छ।

हात्तीपाइलेका लक्षण देखिएमा ढिलाइ नगरी औषधि सेवन गर्न नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आग्रह गर्नुभएको छ। स्वास्थ्यकर्मीहरूले हात्तीपाइले दीर्घकालीन तथा अपांगता निम्त्याउने रोग भएकाले सबै नागरिकलाई अनिवार्य रूपमा औषधि सेवन गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button