रेडियो नेपालको दुई दिने प्रशिक्षण विराटनगरमा सम्पन्न
विराटनगर । सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको आयोजनामा कोशी प्रदेशस्थित तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राममा दुई दिने “समावेशी प्रसारण सामाग्री उत्पादन तथा प्रसारण” सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ ।

मधेश प्रदेश तथा कोशी प्रदेशका कार्यालय प्रमुख, लेखा शाखा प्रमुख, समाचार तथा कार्यक्रम उत्पादनमा संलग्न रहेका सञ्चारकर्मीका साथै विभिन्न जिल्लामा कार्यरत सम्वाददाताहरूको सहभागिता रहेको प्रशिक्षणमा समाचार तथा कार्यक्रम उत्पादन गर्दा समावेशी तथा प्रविधि मैत्री बनाउने विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्यक्रमको समापनमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले सामाजिक सञ्जालले पस्किरहेको भ्रमपूर्ण समाचार र विचारहरूलाई सन्तुलित तथा यथार्थपरक समाचार र सूचना दिने दायित्व सार्वजनिक प्रसारकहरूको भएको बताउनुभयो ।

उहाँले अहिले विभिन्न प्रकारका सामाजिक सञ्जालका कारणले समाजमा घृणा, द्वेष फैलाउने काम भएकाले अझ बढी जिम्मेवारीका साथ सत्य सूचना दिएर जनतालाई सुसूचित गर्ने दायित्व सार्वजनिक सेवाका प्रसारकहरूको भएको बताउनुभयो ।
कार्यकारी अध्यक्ष विष्टले निर्वाचनको समयमा विभिन्न प्रकारका भ्रमपूर्ण समाचारबाट सर्वसाधारणहरू थप भ्रमित हुने अवस्था रहेकाले त्यसलाई चिर्न सार्वजनिक प्रसारणको क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूको भूमिका अझै बढी महत्वपूर्ण भएको बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले प्रशिक्षणमा सहभागी सञ्चारकर्मीहरूले समावेशी सामाग्रीको उत्पादन तथा प्रविधिको विषयमा सिकेका कुराहरू व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालले छिटो तथा बढी भ्युका लागि दिने गरेको भ्रामक सूचनाका कारण मुलुकले धेरै क्षति बेहोर्नु परिरहेको बताउँदै सार्वजनिक सेवा प्रसारकहरूले ढिलो भए पनि सत्य समाचार दिनुपर्ने धारणा राख्नुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले दुई दिने प्रशिक्षणमा सिकेका विषयहरू व्यवहारमा रूपान्तरण हुने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशिला पाठकले सामाजिक सञ्जालले दिने गरेका भ्रमपूर्ण समाचारले समाजमा द्वन्द सृजना गरिरहेकाले त्यसलाई न्यूनीकरण गर्न सार्वजनिक प्रसारकहरूको दायित्व रहने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षकका तर्फबाट रेडियो नेपालका उपनिर्देशक डा. जनार्दन विष्ट, प्रशिक्षार्थीहरूका तर्फबाट रेडियो नेपालका वरिष्ठ सम्वाददाता अजय कुमार झा र प्रादेशिक प्रसारण केन्द्र धनकुटाका कार्यक्रम तथा समाचार सम्पादक सुखकला राई सहितका वक्ताहरूले बोल्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्