तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा नेपाली कम्युनिष्ट पार्टीले एकता भेला गर्ने

धनकुटा  । नेपाली कम्युनिस्ट पार्टी धनकुटाले जिल्ला स्तरीय पार्टी एकता सन्देश सभाको तयारी गरेको छ । पार्टीले आउँदो पुस १३ गते जिल्ला स्तरीय एकता सन्देश सभा गर्ने गरी तयारी सुरु गरेको हो । 

नेपाली कम्युनिस्ट पार्टीले सदरमुकामस्थित नेपाल पत्रकार महासङ्घको हलमा बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै एकता सन्देश सभाबारे जानकारी गराएको हो । केन्द्रीय नेताको उपस्थितिमा पार्टी एकता सन्देश सभा गर्न लागेको नेकपाले जनाएको छ । नेकपाका नेता कुसुम कुमारी श्रेष्ठ र गोपाल बराइली हस्ताक्षरित ‘प्रेस नोट’ अनुसार नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री भीम रावल, हरिबोल गजुरेल, कोशी प्रदेशका नेताहरूको उपस्थितिमा एकता सन्देश सभा गर्न लागिएको हो ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका दलहरूको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले सात वटै प्रदेशमा एकता सन्देश सभा आयोजना गरिसकेको छ । पुस १३ गते जिल्ला स्तरीय एकता सन्देश सभा सकेर क्रमशः पालिका स्तरीय एकता सन्देश सभा गर्ने तयारी गरिएको नेकपाका केन्द्रीय सदस्य धर्मराज पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button