नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ : सहसंयोजक नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गर्नुभएको छ । नेकपाको बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देश सभामा आज यहाँ उहाँले विगतका कमजोरीलाई सुधार्दै मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताउनुभयो ।

सहसंयोजक नेपालले भन्नुभयो, “हामीले विगतमा खेलेको भूमिकाको मूल्याङ्कन गर्नुहोस्, नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भनेर स्वागत गर्नुहोस्, त्यसलाई स्विकार्न हामी तयार छौँ ।”
उहाँले आसन्न निर्वाचन मार्फत जनताले नेकपालाई बहुमत दिएको खण्डमा आफ्नो पार्टीले जनअपेक्षा पूरा गर्ने विश्वास दिलाउनुभयो । “जनचाहनालाई साकार पार्नका लागि इमानदारिताका साथ अघि बढ्नेछौँ । हामीलाई एक पटक मौका दिनुस्, आजसम्म इमानदारिताको राजनीतिलाई, देशभक्तिको भावनालाई, जनताका सेवाको भावनालाई ध्यानमा राखेर नै भूमिका खेल्दै आइरहेको छौँ । आगामी दिनमा थप सचेत भएर भूमिका निर्वाह गर्नेछौँ ।”
जेनजी पुस्ताको भावना सुशासन कायम र भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रवृत्तिको विपक्षमा रहेजस्तै नेकपाका नेताहरूले पनि विगत लामो समयदेखि यस्तै प्रवृत्तिविरुद्ध जुध्दै आएका उहाँले जिकिर गर्नुभयो ।
नेकपाका नेता राजेन्द्र श्रेष्ठले निर्धारित मितिमै निर्वाचन हुनुको विकल्प नभएको जिकिर गर्दै संविधान संशोधनमार्फत जनताको अपेक्षा पूरा गर्नका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गर्नुभयो ।
नेत्री जयपुरी घर्तीले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई कुल्चेर मुलुकलाई प्रतिगमनतर्फ फर्काउने प्रयास नेकपाले सफल हुन नदिने बताउनुभयो । जेनजी प्रतिनिधि एवं विद्यार्थी नेता भूमिराज अधिकारीले जेनजी पुस्ताको आवाज नेकपाले नै सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनवादी कलाकारले नेपालको राजनीतिक परिवर्तन, जनताको आर्थिक, सामाजिक रूपान्तरणमा नेकपाले विगतदेखि खेल्दै आएको भूमिका र आगामी कार्यदिशासम्बन्धी गीतसङ्गीत प्रस्तुत गर्नुभएको थियो । सभाअघि नेकपाले काठमाडौँका विभिन्न चोकदेखि र्याली निकालेको थियो ।








प्रतिक्रिया राख्नुहोस्