तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा शीतलहर चल्न थाल्यो, १ लाख ८० हजार मानिस प्रभावित हुने प्रक्षेपण

नेपालगञ्ज । बाँकेमा शीतलहर सुरु भएको छ । आज दिनभर शीतलहर चलेपछि चिसो बढेको छ । यस वर्ष बाँकेमा ३५ हजार भन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङले शीतलहरलाई लक्षित गरी विपद् प्रतिकार्य योजना निर्माण गरेर स्थानीय तह र सरोकार भएकालाई पत्राचार गरिएको जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले २०८२ का लागि तयार गरेको शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शीतलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका १ लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बाँकेका सबै स्थानीय तह शीतलहरबाट प्रभावित हुनसक्ने भएकाले त्यसको सबैभन्दा बढी प्रभाव सहरी भन्दा ग्रामीण क्षेत्रमा पर्ने बताउनुभयो ।

शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा गरिएको पूर्वानुमान अनुसार शीतलहरबाट नेपालगञ्जमा ८ हजार ५२४ परिवारका ४२ हजार ६२०, कोहलपुर नगरपालिकामा  ४ हजार १३८ परिवारका २० हजार ६९४ जना, खजुरा गाउँपालिकाका ३ हजार १९३ परिवारका १५ हजार ९६७ जना, जानकी गाउँपालिकाका ३ हजार ८८९ परिवारका १९ हजार ४४८ जना प्रभावित हुने अनुमान छ ।

त्यस्तै बैजनाथ गाउँपालिकाका ३ हजार ५२० परिवारका १७ हजार ६०३ जना, राप्तीसोनारी गाउँपालिकाका ३ हजार ८७२ परिवारका १९ हजार ३६३ जना, नरैनापुर गाउँपालिकाका ४ हजार २१८ परिवारका २२ हजार १३४ जना, डुडुवा गाउँपालिकाका ४ हजार २१८ परिवारका २१ हजार ९१ जना शीतलहरबाट प्रभावित हुने पूर्वानुमान छ ।

चिसो बढ्न थालेपछि नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध गर्न थालिएको छ । चिसो बढेर शीतलहर सुरु भएपछि दुई दिनभित्रै सार्वजनिक स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button