जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्सिर महिनामा १७१ मुद्दा दर्ता
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्सिर महिनामा १७१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा अति गम्भीर प्रकृतिका १० वटा र अन्य गम्भीर अपराध ५६ वटा रहेका छन् भने ४६ वटा सामान्य छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ वटा मुद्दामा ८ जनालाई पक्राउ गरिएको छ । यस्तै आर्थिक अपराधतर्फ ४१ वटा घटना दर्ता भएका छन् ।

चालु मुद्दामा १३९ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सार्वजनिक चासोका १४ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धि भने मङ्सिर महिनामा कुनै पनि मुद्दा दर्ता नभएको जनाइएको छ । फैसला कार्यान्वयनतर्फ ४७ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ती प्रतिवादीहरूबाट कुल ३४ वर्ष ८ महिना १६ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ४० लाख ३५ हजार ३८८ रुपैयाँ बराबरको बिगो तथा क्षतिपूर्ति असुल गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ मङ्सिर महिनामा ११६ वटा उजुरी दर्ता भएका छन् । ती मध्ये ७८ वटा उजुरी फर्छ्योट भएका छन् भने ३८ वटा उजुरी फर्छ्योट हुन बाँकी छन् । पीडित तथा पीडकको उमेर समूहका आधारमा गरिएको विश्लेषण अनुसार १८ देखि २५ वर्ष उमेर समूहका ३७ जना र २६ देखि ३९ वर्ष उमेर समूहका ७९ जना रहेका छन् । हराएका तथा फेला परेका व्यक्तिहरूको विवरण अनुसार ४० जना महिला र ७ जना पुरुष हराएको उजुरी परेकोमा २३ जना महिला र ४ जना पुरुष फेला परेका छन् । हालसम्म १७ जना महिला र ३ जना पुरुष फेला नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्