कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ८ जना घाइते

कञ्चनपुर । कञ्चनपुर कारागारमा शुक्रवार साँझ कैदीबन्दीहरू बीच भएको झडपमा ८ जना कैदीबन्दी घाइते भएका छन् ।
कारागारभित्र नाइकेसहित केही व्यक्तिहरूले ज्यादती गरेको आरोप लगाउँदै र कारागार प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कैदीबन्दीहरू विद्रोहमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको कञ्चनपुर कारागारका जेलर वन्दना सुवेदीले जानकारी दिनुभयो ।

कैदीबन्दीहरू बीच आपसमा भएको झगडामा ८ जना घाइते भएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

घटनापछि थप अप्रिय अवस्था सिर्जना हुन नदिन कारागारको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
कारागारभित्रको अवस्था नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको छ भने घटनाको कारणबारे अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

कारागार प्रशासनको आन्तरिक व्यवस्थापन, नाइकेको भूमिकालगायत विषयमा समेत छानबिन गरिने बताइएको छ ।









प्रतिक्रिया राख्नुहोस्