तपाईँ सुन्दै हुनुहुन्छः

वर्षौँदेखि अलपत्र सिचाई आयोजना जन श्रमदानबाट सम्पन्न 

वीरगंज । वर्षौँदेखि अलपत्र परेको सिचाई आयोजनालाई जन श्रमदान बाट सम्पन्न गरेर गाउँलाई नै हराभरा बनाउन सकिन्छ भन्ने उदाहरण दिएका छन् पर्साको ठोरी र जिराभबानी गाउँका बासिन्दाले । 

पर्साको जिराभवानीपुरमा सङ्घीय सरकारको बजेटमा निर्माण शुरु भएर आठ वर्षदेखि अलपत्र पर्दै आएको घोडेमसान सिँचाइ आयोजनालाई किसानहरूले आफै प्रयासमा श्रमदान गरी पानी सञ्चालन गरेका गरे सँगै अहिले सो क्षेत्र हराभरा भएको छ । 

मानव बस्तीभन्दा करिब २५ किलो मिटर टाढा उत्तरतर्फको पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलमा रहेको घोडेमसान खोलाको पानी ल्याएर सिँचाइ गर्न सङ्घीय सरकारले आर्थिक वर्ष २०७३/०७४ सालमा १८ करोड रुपैयाँको लगानीमा आयोजना शुरु गरेको थियो । उपभोक्ता समितिमार्फत निर्माण हुने भनिएको सो आयोजना अन्तर्गत निकुञ्जको जङ्गलभित्र कुलो निर्माण कार्यको लागि ६५ लाख र आबादी क्षेत्रमा कुलो निर्माण कार्यको लागि ८५ लाख रुपियाँ लगानी भएको थियो ।

सिँचाइका लागि पानी ल्याउन कतिपय खहरे खोलामा पक्की साइफन (अन्डरग्राउन्ड कुलो) समेत निर्माण गरिएको थियो । तर बजेटको निरन्तरता नहुँदा आयोजना अलपत्र परेर निर्माण भएका अधिकांश स्थानका कुलो पुरिएको र भत्किएको अवस्थामा पुगेको थियो ।

जिराभवानी गाउँपालिकाको हरैया, वसन्तपुर, काठमाडौंटोल, तिनटोलिया, शान्तिनगर तथा ठोरी गाउँपालिका वडा नम्बर ५ मा पर्ने गडुवालाईन, क्षेत्रीलाईन, बथेटोलका किसानहरूले सो कुलो र साइफनको मर्मत गरेर एक साता अघिबाट पानी सञ्चालनमा ल्याएका हुन । दैनिक ४०–५० जना किसानहरूले जङ्गल प्रवेश गरी बाँध र कुलो मर्मतको लागि श्रमदान गरेसँगै अहिले अलपत्र आयोजनाबाट पानी सञ्चालन भएपछि सो क्षेत्रका किसानहरूले गहुँबाली, सुर्ती लगायतका हिउँदे बालीमा सिँचाई गरिरहेका जिराभवानी गाउँपालिका वडा नम्बर १ शान्तिनगरका किसान बासु श्रेष्ठले बताउनुभयो । 

श्रेष्ठको अनुसार पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनबाट खोलाको बाँध निर्माण तथा जङ्गलभित्रको कुलो मर्मतका लागि आवश्यक प्रक्रिया अपनाई कागजात तयार पारेर एक महिनाअघि जङ्गल प्रवेशको लागि अनुमति लिइएको थियो । घोडेमसान खोलाको पानीले सो क्षेत्रको करिब एक हजार पाँच सय बिघा जमिनमा सिँचाइ गर्न सकिने किसानहरूको भनाई छ ।

ठोरी गाउँपालिका वडा नम्बर ५ का किलान देवीप्रसाद दहालले  जन श्रमदानबाट घोडेमसान खोलाको साथसाथै सितलपुर खोलाको पानी पनि ल्याउने प्रयास भइरहेको बताउनुभयो । ती दुई खोलाको पानी ल्याउन सकेको खण्डमा जिराभवानी र ठोरी गाउँपालिकाका हजारौँ बिघा खेतमा सिँचाइ गर्न सकिने दहालले दाबी गर्नुभयो ।

पर्साको सुवर्णपुरबाट उत्तर तर्फ करिब २५ किलोमिटर टाढा पर्सा राष्ट्रिय निकुञ्ज भित्र चुरे फेदीमा रहेको घोडेमसान खोलामा बाँध बाँधेर ३ दशक अगाडी कुलो निर्माण गरेर सो क्षेत्रमा सयौँ विगाह खेतमा स्थानीय किसानहरूले आफै श्रमदान गरी सिँचाई सुविधा  उपभोग गर्दै आएको इतिहासलाई खोतल्दै अहिले फेरी ठोरी र जीराभबानीका बासिन्दा सुख्खा र खडेरीसँग जुध्न घोडेमसान कुलोको मुहानमा पुगेको श्रमदान गरी अलपत्र आयोजनालाई पुरा गरेको  स्थानीय युवा निरोज प्रधानले बताउनुभयो ।

  

.

प्रतिक्रिया राख्नुहोस्

Back to top button