तपाईँ सुन्दै हुनुहुन्छः

फेवातालको ६५ मिटरभित्रका संरचना हटाउने काम सरकारी भवनबाटै सुरु हुन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षण अभियान अन्तर्गत तालको ६५ मिटरभित्र निर्माण भएका भौतिक संरचना हटाउने कार्य सरकारी संरचनाबाटै सुरु गरिने बताउनु भएको छ । 

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले फेवातालको सिमाङ्कन लामो समयसम्म टुङ्गो लाग्न नसकेको अवस्थामा पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा सीमा निर्धारण गरिएको उल्लेख गर्दै अब दोस्रो चरणको काम सरकारी संरचनाबाटै सुरु हुने बताउनु भएको हो । 

अदालतको आदेश अनुसार फेवाताल ताल संरक्षण र हरियाली प्रवर्द्धनको काम अघि बढाइने उहाँको भनाइ थियो । “पहिलो चरणमा सरकारी संरचनाबाटै काम सुरु हुन्छ, त्यसपछि क्रमिक रूपमा अगाडि बढ्छौँ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “फेवाताललाई हेर्न लायक बनाउँछौँ । ताल वरिपरि आवश्यक हरियाली (ग्रिनरी) विकास गरेर यसको सौन्दर्य र वातावरणीय सन्तुलन कायम गरिनेछ ।” मुख्यमन्त्री पाण्डेले पोखरालाई प्रदूषणमुक्त सहरका रूपमा स्थापित गर्न एशियाली विकास बैङ्क (एडिबी) सँगको सहकार्यमा पोखरा महानगरपालिका र प्रदेश सरकारको समन्वयमा छिट्टै ठूला परियोजनाहरू कार्यान्वयनमा जाने जानकारी दिनुभयो । पर्यटनलाई केन्द्रमा राखेर पोखरामा दुई ठूला योजना अघि बढाउने तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो । 

फेवातालको सिरान भाग हर्पन क्षेत्रमा करिब १५/१६ करोड लागतमा ‘सेल्फी ब्रिज’ निर्माण गर्ने लक्ष्य लिइएको र रुपाताल क्षेत्रमा ‘ग्लास ब्रिज’ निर्माणको योजना रहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । साथै पोखरा वरपरका पर्यटकीय गन्तव्यहरूलाई ११ वटा ‘स्याटेलाइट डेस्टिनेसन’ का रूपमा विकास र प्रवद्र्धन गर्ने रणनीति पनि अघि सारिएको उहाँले बताउनुभयो । “राउण्ड फेवा भ्यु, फेवा सर्किट लगायतका परियोजनाहरू महानगरसँगको समन्वयमा अगाडि बढिरहेका छन्,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “अब पोखराको पर्यटनलाई हिमाल र तालसँग जोड्न सकिएन भने अपेक्षित प्रवद्र्धन हुन सक्दैन । अबको पर्यटन त्यतैतर्फ केन्द्रित हुनुपर्छ ।”

उहाँले तालहरूमा परम्परागत डुङ्गा सञ्चालनमा मात्र सीमित नरही समय सान्दर्भिक जलसम्बन्धी साहसिक तथा मनोरञ्जनात्मक खेल गतिविधि विस्तार गर्ने योजना रहेको उल्लेख गर्नुभयो । तालहरूलाई क्रुज र रेस्टुरेन्टका रूपमा समेत प्रयोग गर्नुपर्ने धारणा व्यक्त गर्दै यसले पर्यटनको आकर्षण बढाउने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनका कारण महानगर र प्रदेश सरकारका धेरै संरचनाहरू क्षतिग्रस्त भएको स्मरण गराउँदै अब फेरि उठेर सहकार्यका साथ अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । सो आन्दोलनको प्रभावले विदेशी लगानी समेत केही समय ‘पर्ख र हेर’ को अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

पोखरालाई पर्यटनको राजधानीका रूपमा घोषणा गरिसकेपछि यसको अन्तर्राष्ट्रिय ब्राण्डिङ सुरु भइसकेको दाबी गर्दै मुख्यमन्त्री पाण्डेले अब त्यसलाई व्यवहारिक परिणाममा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखरा र गण्डकी प्रदेशले पर्यटनबाटै आर्थिक विकास र समृद्धि हासिल गर्न सक्नुपर्ने उहाँले जनाउनु भयो । यसैबिच, पोखरा महानगरपालिकाले महानगरभित्र रहेका सबैभन्दा ज्येष्ठ नागरिकलाई महानगर माता र पिताको रुपमा सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले बताउनु भयो । 

महानगरले आफ्नो ६७ औँ स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २८ की १०७ वर्षीया झ्याउरी तिमिल्सिनालाई महानगर माताको रुपमा सम्मान गरेको हो । यसैगरी पोखरा ३२ का १०४ वर्षीय काशिनाथ पण्डितलाई महानगर पिताको रुपमा सम्मान गरेको हो । प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगरका मेयर धनराज आचार्यले उहाँहरूलाई दोसल्ला, ताम्रपत्र र नगद सहित महानगर मातापिताको रुपमा सम्मान गरिएको हो । 

महानगरको स्थापना दिवसको अवसरमा पोखरामा प्रभातफेरीको आयोजना गरिएको थियो । पोखराको मानव अधिकार चोकबाट झाकी पञ्चेबाजा सहित सुरु भएको उक्त प्रभातफेरी चिप्लेढुंगा न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर समारोहमा परिणत भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button