अटिजम भएका बालबालिकाको विकासमा अभिभावकको भूमिका महत्वपूर्ण
नेपालगञ्ज । अटिजम भएका व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि नियमित दिनचर्या, अभिभावकको सक्रिय सहभागिता र सकारात्मक वातावरण अत्यन्त आवश्यक हुने सरोकारवालाले बताएका छन् । अभिभावकहरू सचेत, धैर्यवान र सकारात्मक भए अटिजम भएका बालबालिकाको व्यवहार नियन्त्रण र विकास सम्भव हुने उनीहरूको भनाई छ ।
अटिजम भएका व्यक्तिका अभिभावक तथा हेरचाहकर्तालाई लक्षित दुई दिने सीप विकास तालिममा सहभागीहरूले उक्त धारणा व्यक्त गरेका हुन् । उक्त तालिम नेपालगञ्ज स्विमिङ क्लबले आकार फाउन्डेसन मोरङको सहयोग तथा लायन्स क्लब अफ नेपालगञ्ज पीएनएलएफ र यूथसँगको सहकार्यमा आयोजना गरेको हो । अटिजम भएका व्यक्तिलाई सबैभन्दा बढी आफ्नै अभिभावकको आवश्यकता बढी हुने बताउँदै तालिमका सहजकर्ता तथा आकार फाउन्डेसनका निर्देशक मनोविद् प्रिसिमा थापा (असिमा) ले परिवारको पर्याप्त समय र मायाबाट नै उनीहरूको हेरचाह सम्भव हुने बताउनुभयो ।
उनीहरुलाई निश्चित दिनचर्यामा राख्नु, सरल भाषा प्रयोग गरी बुझाउन खोज्नु र तनावरहित वातावरण सिर्जना गर्नु आवश्यक हुने भन्दै थापाले अभिभावकले कराउने वा दबाब दिने भन्दा पनि प्रोत्साहन र माया देखाएर व्यवहार सुधारमा सहयोग पुर्याउनुपर्ने सुझाव दिनुभएको छ ।
भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट तथा पूर्व मेडिकल सुपरिन्टेन्डेन्ट डा। बद्री चापागाईँले अटिजमका घटना बढ्दै गएको भन्दै रोकथामका लागि अभिभावकले सन्तानलाई समय दिनुपर्ने र ग्याजेटमा निर्भरता घटाउनुपर्ने बताउनुभयो । व्यस्त जीवनशैलीका कारण बालबालिकासँग संवाद र समय घट्दै गएको उल्लेख गर्दै उहाँले ग्याजेटको भरमा बच्चा हुर्काउँदा समस्या थप बढ्ने चेतावनी दिनुभयो ।
नेपालगञ्ज स्विमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले अटिजमको समस्या बढ्दै गएको भन्दै सामाजिक उत्तरदायित्वका रूपमा तालिम आयोजना गरिएको बताउनुभयो । तालिममा बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रका करिब ५० बढी अटिजम भएका व्यक्ति, अभिभावक तथा हेरचाहकर्ताको सहभागिता छ ।







प्रतिक्रिया राख्नुहोस्