कोरियाबाट फर्किएका नेपालीलाई उद्यमी बनाउन प्रोत्साहन कार्यक्रम सम्पन्न
काठमाडौँ । रोजगार अनुमति प्रणाली इपिएसबाट दक्षिण कोरिया गएर सीप सिकेर फर्किएका रिटर्नीलाई उद्यमी बन्न प्रवर्द्धन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैङ्कको केन्द्रीय तालिम केन्द्रमा कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय कोइकाको ‘के–हामी’ परियोजना अन्तर्गत रिटर्नी १० जना सहभागीबीच प्रतिस्पर्धा भएको थियो ।

कार्यक्रममा कोरिया र नेपालमा संयुक्त रूपमा सञ्चालन गरिएको एक वर्षे उद्यमशीलता शिक्षा पूरा गरेका सहभागीहरूले रिटर्नी इनोभेटर फर नेपाल (रिन) कार्यक्रम अन्तर्गत तयार पारेका व्यावसायिक अवधारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत ते–यङ पार्क, कोइकाका कन्ट्री डाइरेक्टर मुहेन कोङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव जनक शर्मा, कृषि विकास बैंकका उपमहाप्रबन्धक सुदीपकुमार दाहाल लगायतको उपस्थिति रहेको थियो।
१० जना प्रतिस्पर्धीबिचको व्यावसायिक अवधारणामा निर्णायक मण्डलले ग्रोथ ट्र्याक र स्टार्टअप ट्र्याकतर्फ उत्कृष्ट छनोट गर्दै प्रथम, द्वितीय र तृतीय स्थानसहितका नगद पुरस्कार (सीड फन्ड) प्रदान गरेको छ । कार्यक्रममा ग्रोथ ट्र्याकका उद्यमीले नगद क्रमशः रु ५ लाख, रु ३ लाख र रु २ लाख साथै स्टार्टअप ट्र्याकतर्फ क्रमशः रु ३ लाख, रु २ लाख र रु १ लाख प्राप्त गरेको आयोजकले जनाएको छ ।

विजेताहरूलाई कोरियाली उद्यमसँग व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर समेत उपलब्ध गराइने कार्यक्रम कार्यान्वयन गर्ने संस्था द ब्रिज इन्टरनेस्नलका सिइओ जिनसोल ह्वाङले बताउनुभयो ।
व्यावसायिक पिचिङमार्फत जम्मा ६ जना कोरिया फर्केका नव उद्यमी नगद पुरस्कारबाट पुरस्कृत भए । साथै नेपालमा ग्रोथ ट्र्याक र स्टार्टअप ट्र्याकअन्तर्गत उद्यमशीलता क्षमता विकास तालिम पूरा गरेका २० जना सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कोइकाले सन् २०२२ देखि कोरिया रिटर्नीहरूकाे दिगो पुनः एकीकरण र उद्यमशीलता विकासका लागि के–हामी परियोजना सञ्चालन गर्दै आएको छ । यस परियोजनाले कोरियाको सफल रोजगारीबाट स्वदेशको बसाइँलाई आत्मनिर्भर बनाउने एवं सिकेका सीप, अनुभव र पुँजीलाई नेपालकै आर्थिक विकासमा उपयोग गर्ने लक्ष्य लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्