रेडियो नेपालको ‘रेडियो बहस’ नेचा सल्यानमा सम्पन्न
सोलुखुम्बु । सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गत रेडियो नेपालद्वारा आयोजित स्थलगत ‘रेडियो बहस’ कार्यक्रम सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा सम्पन्न भएको छ ।

स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय सर्वसाधारणका बीचमा प्रत्यक्ष संवाद गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत हरि गिरी र भानुभक्त खड्काले गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष विना राईको उपस्थितिमा नेचामा आयोजना गरिएको उक्त बहसमा जनप्रतिनिधि, सरोकारवाला निकाय, व्यवसायी, कृषक, उद्यमी लगायत स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

बहसमा स्थानीय तहका विकासका सवाल, सार्वजनिक सेवा, कृषि, उद्यमशीलता, रोजगारी, सुशासन तथा नागरिकका अपेक्षाबारे खुला छलफल गरिएको छ । सहभागीहरूले स्थानीय समस्या र सम्भावनाका विषयमा आफ्ना धारणा राख्दै नीति निर्माणमा यस्ता बहस कार्यक्रम प्रभावकारी हुने बताएका छन् ।

जिल्लाकै अन्न भण्डारका रुपमा चिनिने नेचासल्यानका स्थानीयले कृषिका विषयलाई बढी जोड दिएका छन् । स्थानीय तहमा नागरिकको आवाज राष्ट्रिय प्रसारणमार्फत उठाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले जनसहभागिता, संवाद र जबाफदेहिता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्