तपाईँ सुन्दै हुनुहुन्छः

न्वाङ्गी पर्वमा उदयपुरका दुई पालिकाले स्थानीय बिदा दिने

उदयपुर। उदयपुरका दुई पालिकाले दनुवार समुदायको न्वाङ्गी (नेमान) पर्वको उपलक्ष्यमा स्थानीय बिदा दिएका छन् ।

जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका र कटारी नगरपालिकाले दनुवार समुदायले मनाउने न्वाङ्गी (नेमान) पर्वको उपलक्ष्यमा भोली मंसिर २५ गतेका लागि स्थानीय बिदा दिएका हुन ।

त्रियुगा नगरपालिकाको नगर कार्यपालिकाको मंसिर ११ गतेको पाँचौँ बैठकको निर्णय अनुसार पालिका भित्रका आकस्मिक सेवाबाहेक सम्पूर्ण क्षेत्रमा एक दिनका लागि स्थानीय बिदा दिने निर्णय गरे अनुसार स्थानीय बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले जानकारी दिनु भयो ।

कटारी नगरपालिकाले भने नगर प्रमुख स्तरीय निर्णय अनुसार मंसिर २५ गते आकस्मिक सेवाबाहेक सम्पूर्ण क्षेत्रमा एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय भएको नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मंसिर २५ गते दनुवार समुदायले मनाउने मुख्य पर्व न्वाङ्गी (नेमान)को दिन दनुवार बाहुल्य क्षेत्रहरूमा विभिन्न कार्यक्रमहरू सहित सामूहिक न्वाङ्गी पूजा गरेर पर्व मनाउने चलन छ । उदयपुरमा कटारी, त्रियुगा लगायतका पालिकाहरूमा दनुवार समुदायको बसोबास रहेको छ ।  दनुवार समुदाय यहाँको आदिवासी समुदाय यो । उदयपुरमा ३.०५ प्रतिशत दनुवार समुदायको बसोबास रहेको छ । यस अवसरमा त्रियुगा नगरपालिका र कटारी नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेका हुन ।

यसै बिच उदयपुरमा दनुवार समुदायले न्वाङ्गी (नेमान) पर्व तीन दिन मनाउने भएका छन् । उनीहरूले न्वाङ्गी (नेमान) पर्वको उपलक्ष्यमा दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सवको आयोजना गरेर तीन दिनसम्म भव्य रूपमा पर्व मनाउने तयारी गरेको स्थानीय रञ्जु दनुवारले जानकारी दिनु भयो । दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मूल आयोजक समितिको संयुक्त आयोजनामा मंसिर २५ देखि २७ गतेसम्म त्रियुगा नगरपालिका–८ स्थित बैरेनीचौरमा कार्यक्रम सञ्चालन हुने मूल आयोजक समितिका संयोजक गुरुदेब दनुवारले जानकारी दिनु भयो ।

उत्सवको पहिलो दिन अर्थात् मंसिर २५ गते दनुवार समुदायको मुख्य पर्व न्वाङ्गीलाई राष्ट्रिय स्तरमा आधिकारिक कार्यक्रम मार्फत सार्वजनिक गर्दै सामूहिक न्वाङ्गी पूजा गरिनेछ। उत्सवको दोस्रो र तेस्रो दिन महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुरद्वारा नगर स्तरीय खुला सांस्कृतिक नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति, बृहत् सांस्कृतिक मोटरसाइकल र्‍याली, ओपन–फेस्ट भिलेज वातावरण,जातीय झाकिप्रदर्शन,दनुवारी खाना परिकार प्रदर्शन हुने आयोजक समितिले जनाएको छ ।

दनुवार समुदायको कला, संस्कृति, पहिरन, नृत्य र खानालाई राष्ट्रिय पहिचानमा प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको यस उत्सवलाई नेपालको सांस्कृतिक विविधता, सामुदायिक सहअस्तित्व, एकता र पहिचानको प्रतीकका रूपमा सफल बनाउन आयोजक समितिले प्रतिबद्धता व्यक्त गरेको छ।

“न्वाङ्गी पर्वलाई दनुवार समुदायले नयाँ अन्न अर्पण, पूर्वजप्रति सम्मान, धर्म, संस्कृति र कृषि परम्पराको पवित्र प्रतीकको रूपमा मान्ने गर्दछन् । यो पर्वले दनुवार समुदायको पुराना चलन–रीति बचाउने र नयाँ पुस्तालाई सिकाउने एउटा महत्त्वपूर्ण परम्पराको रूपमा लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button