‘मानव अधिकार रक्षकहरू सामान्य अवस्थामा पनि जोखिममा’
नेपालगञ्ज । मानव अधिकार रक्षकहरूमाथि नै असुरक्षा बढेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । हरेक बर्ष ९ डिसेम्बरमा मनाइने विश्व मानव अधिकार रक्षक दिवसका सन्दर्भमा आज नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा अरूको अधिकारका बारेमा बोलिदिने मानव अधिकार रक्षकहरू नै असुरक्षाको सामना गर्दै पीडित बनेको भन्दै चिन्ता ब्यक्त गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ बाँके, नेपालगञ्ज उच्च अदालत बार एसोसिएसन, राष्ट्रिय मानव अधिकार आयोग, एड्भोकेसी फोरम नेपाल, इन्सेक नेपालगञ्ज लगायतका विभिन्न अधिकारवादी सङ्घसंस्था आवद्ध मानव अधिकार सञ्जाल नेपालगञ्जको आयोजनामा ‘बदलिँदो परिस्थितिमा मानव अधिकार रक्षकका चुनौती, अधिकार र सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा मानव अधिकार रक्षकहरू सामान्य अवस्थामा पनि जोखिममा पर्दै गइरहेको अवस्था चित्रण गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले मानव अधिकार रक्षकले आफ्नो भूमिका, निष्पक्षता र तटस्थतालाई ध्यान दिँदै कर्तव्य निभाउनुपर्ने आवश्यकता समेत औँल्याएका छन् । नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष चित्र बहादुर शाहीको अध्यक्षता एवम् राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका कुमारी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राज्यले मानव अधिकार रक्षक ऐन समेत निर्माण गरेर कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख अधिकारी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, बाँके प्रहरी प्रमुख एसपी अङ्गुर जिसी, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल बारका पूर्व उपाध्यक्ष प्रल्हाद बहादुर कार्की, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, अधिकारकर्मी निर्मला सुनार, द्वन्दपीडित महिला चन्द्रकला उप्रेती, अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट विनोद थापा, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको तर्फबाट परिना चौधरी लगायतले बोल्नुभएको थियो ।
इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण अधिवक्ता बसन्त गौतमले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रम पूर्व बिपी चोकमा प्ले कार्ड प्रदर्शन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्