तपाईँ सुन्दै हुनुहुन्छः

जैमिनीका ४१ छोरीलाई मुद्दती खाता उपहार

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ । नगरपालिकाले छोरीलाई प्रोत्साहन गर्नका लागि गत आर्थिक वर्ष यता जन्मेका नगर भित्रका सबै छोरीलाई मुद्दती खाता खोलेको जैमिनी नगरपालिकाले जनाएको हो ।

जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत अहिले सम्म ४१ जना छोरीलाई मुद्दती खाता उपहार दिइएको छ । गत आर्थिक वर्षबाट शुरु गरेको कार्यक्रममा नगरपालिकाले ४१ जना छोरीको जन्म दर्तापछि मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

चालु आर्थिक वर्षमा जन्मेका छोरीहरूको खाता खोल्न बाँकी रहेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । प्रत्येक छोरीलाई दुई हजार पाँच सयका दरले नगरपालिकाको तर्फबाट खातामा जम्मा गरेर खाता उपहार प्रदान गरिएको शर्माको भनाई छ ।

उक्त मुद्दती खातामा चक्रीय व्याज आउने गरी बैङ्कसँग समन्वय गरिएको छ । गत आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दा साथ दुई हजार पाँच सयको मुद्दती खाता उपहार दिने कार्यक्रम अघि सारेको थियो । नगरपालिकाले छोरीको सम्मान र उनीहरूको उज्ज्वल आर्थिक भविष्यका लागि जन्मदर्ता गरेपछि मुद्दती खातामा सो रकम जम्मा गर्दै आएको छ ।

छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दती खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकलाई समेत उक्त खातामा दक्ष अनुसारको रकम जम्मा गर्न आग्रह गर्दै आएको शर्माले बताउनुभयो । छोरीको उज्ज्वल आर्थिक भविष्यका लागि बचत गर्नका लागि अभिभावकलाई सिकाउन समेत यो कार्यक्रम फलदायी हुने शर्माको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button