तपाईँ सुन्दै हुनुहुन्छः

भोलिदेखि मानव अधिकार महाभेला आयोजना हुने 

काठमाडौँ I मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजको तर्फबाट सरकार र सम्बन्धित पक्षलाई जबाफदेही बनाउने उद्देश्यले नेपालमा १७ औँ राष्ट्रिय मानव अधिकार महाभेला २०८२  आयोजना हुँदैछ । 

मानव अधिकार महाभेलाको संयोजन गरिरहेको संस्था मानव अधिकारका लागि महिला एकल महिला समूहले आज ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगमा पत्रकार सम्मेलन गरी मङ्सिर २२ गतेदेखि २८ सञ्चालन हुने महाभेलामा लोकतन्त्र, मानवअधिकार, कानूनी शासन तथा अन्रपुस्ता न्यायको समर्थनलगायतका विषयमा छलफल हुने जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा एकल महिला समूहकी अध्यक्ष एवम् महाभेला संयोजक शोभा विसीले एक सय २५ वटा मानव अधिकारवादी संस्थाहरूको सहभागिता रहेको महाभेलाको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गर्ने जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले सप्ताहव्यापी रुपमा आयोजना गर्न लागिएको मानव अधिकार महाभेलामा जेनजी पुस्ताहरूलाई विशेष सहभागी गराइएको जानकारी गराउनुभयो । 

दबाब र बलप्रयोगबाट नभइ शान्तिपूर्ण आन्दोलनमार्फत  परिवर्तन गर्न सकिने ठाउँहरू भएकाले मानव अधिकार महाभेलामा सहभागीलाई अहिंसात्मक आन्दोलनबारे प्रशिक्षण दिने बताउँदै आयोगका सचिव खरेलले संक्रमणकालीन न्यायलाई सहज निरुपण गर्न महाभेलाले सहयोग पुर्‍याउने विचार व्यक्त गर्नुभयो ।  

पत्रकार सम्मेलनमा मानव अधिकारकर्मी चरण प्रसाईँले नीति निर्माण तहमा युवाहरूलाई पुर्‍याउन र उनीहरुलाई जबाफदेही मनाउन पनि भेला महत्वपूर्ण हुने  बताउनुभयो । 

युवा पुस्ताको आन्दोलन र त्यसपछिका समयमा मानव अधिकार उल्लङ्घनका घटनाहरू बढ्दै गरेको परिपेक्षमा आयोजना गर्न लागिएको महाभेलामा युवा पुस्तालाई मानव अधिकार र शान्तिपूर्ण आन्दोलनका बारेमा चेतना प्रदान गर्न पुस्तान्तरण विषयक संवाद र छलफललाई जोड दिइएको आयोजकले जनाएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button