मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माण शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले धार्मिक वन रहेको वीरेन्द्रनगर नगरपालिका–११ स्थित चारकुने क्षेत्रमा उक्त भवन शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा मुख्यमन्त्री कँडेलले मानव सेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा सामुदायिक सहभागिता र सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले मानव सेवा स्थल निर्माणले सामाजिक सद्भाव र एकता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
सामाजिक विकास मन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको स्मरण गर्दै कर्णालीको भूगोलअनुरूप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने बताउनुभयो । सरकारी घोषणालाई कार्यान्वयन गर्न सबैको उत्तिकै भूमिका रहेको भन्दै उहाँले मानवता प्रवर्द्धन र सेवाका निम्ति प्रदेश सरकारले भवन निर्माणजस्ता पूर्वाधार संरचनाका कार्यलाई पनि प्राथमिकतामा राखेको जनाउनुभयो ।
मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा नवराज केसीले भवन निर्माणका लागि महायज्ञमार्फत दान सङ्कलन गरिएको जनाउँदै यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो । आश्रमको भवन निर्माणकार्य निर्धारित मितिमै सम्पन्न गर्न सरोकारवालाहरूलाई उहाँले सहयोग गर्न अपिल गर्नुभयो ।
भवन निर्माणस्थल नजिकैको क्षेत्रमा धार्मिक पार्क निर्माण गरिदिन मुख्यमन्त्री र मन्त्रीलाई आग्रह गर्दै उहाँले ज्येष्ठ नागरिकका लागि सामुदायिक भावनासहितको मनोरञ्जनात्मक स्थलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको संयोजक डा केसीको भनाइ थियो । उक्त कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रदेश सरकारको सहयोगले सहयोगापेक्षी सडक मानव र मानवता प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।
प्रदेश सरकारबाट निर्माण हुने प्रदेश उक्त भवनको लागत अनुमान रु दुई करोड ५० लाख रहेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेश सरकारबाट रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्