नेपालगन्जमा आठौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदै
नेपालगन्ज । मङ्सिर २० गते शनिबार नेपालगन्जमा हुने आठौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता २०८२ को तयारी पूरा भएको छ । नेपालगन्ज साइक्लिङ क्लबले नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा प्रतियोगिता गर्न लागेको हो । नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिइएको हो ।

नेपालगन्ज साइक्लोथन आठौँ मेयर कप साइकल दौड प्रतियोगितामा देशभरबाट १३० बढी महिला तथा पुरुष खेलाडीहरूले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो । प्रतियोगिता विभिन्न पाँच विधामा आयोजना हुनेछ । एक विधामा राष्ट्रिय स्तरका खेलाडीहरूले भाग लिँदैछन् । जस अन्तर्गत MTB MALE ३६ किमी, MTB Vetran २५ किमी, MTB FEMALE २५ किमी, साधारण साइकल पुरुष २५ किमी, साधारण साइकल महिला १६ किमीको हुने प्रतियोगिताका संयोजक एवम् नेपालगन्ज साइक्लिङ क्लबका उपाध्यक्ष कविराम बुढाथोकीले बताउनुभयो ।
प्रतियोगिता नेपालगन्ज विपी चोकबाट शनिबार बिहान सुरु हुनेछ । प्रतियोगिताको रुट नेपालगन्ज विपी चोकबाट धम्बोजी, राँझा, हवलदारपुर, कोहलपुर हुँदै पुन: सोही रुटबाट विपी चोकसम्मको हुनेछ । विजेता खेलाडीहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रसहित अन्य पुरस्कारहरू प्रदान गरिने अध्यक्ष सापकोटाले बताउनुभयो । प्रथम पुरस्कारको राशि २५ हजार नगद रहेको सापकोटाले बताउनुभयो ।
आज भन्दा करिब आठ वर्ष पहिला गठन गरी जिल्ला खेलकुद सङ्घमा समेत आवद्ध भएको नेपालगन्ज साइक्लिङ क्लब पश्चिम नेपालको साइक्लिङ चेनमार्फत स्वास्थ्य, खेलकुद, पर्यापर्यटनका साथै विकास प्रवर्द्धन गर्ने एक सशक्त क्लबका रुपमा परिचित छ । क्लबले साइक्लिङमार्फत गुमनाम र गुल्जार नभएका पर्यटकीय गन्तव्यहरूको खोजी गर्दै व्यापक प्रचारप्रसार गर्दै पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यस क्षेत्र र छिमेकी जिल्लाको पर्यटकीय स्थलहरूको दृश्यावलोकन गर्न र सम्भावनाहरूको व्यापक खोजी गर्दै आमरुपमा पर्यटन प्रवर्द्धन गर्ने ध्येय अनुसार वि।सं।२०७५ देखि क्लबले टुर डे ठाकुरद्वारा साइक्लिङ यात्रा पनि निरन्तर गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्