तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका ग्रामीण महिलामाथि अझै रोकिएन लैङ्गिक हिंसा

बाँके । बाँकेको ग्रामीण क्षेत्रमा महिलामाथि हुने लैङ्गिक हिंसा अझै पनि नरोकिएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। अभिभावकमा चेतनाको कमी, परम्परागत सोच, सामाजिक कुसंस्कार र बालिकालाई उच्च शिक्षाबाट वञ्चित गर्ने प्रवृत्तिले महिलाहरू निरन्तर हिंसाको जोखिममा रहेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।

महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले डुडुवा गाउँपालिका–२ मा गरेको समूहगत छलफलमा स्थानीय अगुवाहरूले महिलामाथि व्याप्त समस्याबारे खुलेर धारणा राखेका थिए । सहभागीहरूले समाजमा जरा गाडेर बसेको बालविवाह, दाइजो प्रथा, जातीय विभेद, बहुविवाह जस्ता कुरीतिका कारण किशोरी तथा महिलाहरू दैनिक जीवनमा विविध समस्यामा पर्ने बताए ।

विशेषगरी मधेशी समुदायमा शिक्षा र जानकारीको अभावले महिलाहरू थप पछाडि परेको उल्लेख गर्दै, डुडुवा २ का जाकिर खाँले भन्नुभयो,“सबैभन्दा पहिला चेतना अभिवृद्धि गर्न सके मात्र जीवनस्तर परिवर्तन सम्भव छ ।,”

कार्यक्रममा महिला अगुवा लिलावती यादव, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, रविन्द्र ज्ञवाली, देवकी यादव, ध्रुवा बर्मा लगायतका वक्ताहरूले समाजमा जागरण फैलिन सके लैङ्गिक हिंसा उल्लेख्य रूपमा घट्ने विश्वास व्यक्त गर्नु भयो ।

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममार्फत बाँके–बर्दियाका चार स्थानीय तहमा महिला तथा बालिकामाथि हुने हिंसा रोकथामका लागि आवश्यक ऐन, कानुन, नीति तथा कार्यविधि निर्माण भइरहेको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिनु भयो ।

यसले ग्रामीण महिलाहरूको सुरक्षित र सम्मानजनक जीवनका लागि आवश्यक हस्तक्षेप अझै पनि अत्यावश्यक रहेको तथ्य उजागर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button