तपाईँ सुन्दै हुनुहुन्छः

आपसी सहयोग र समन्वयमार्फत वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन सकिने

काठमाडौँ । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन राज्य र सरोकारवालाबिच आपसी सहयोगको आवश्यकता रहेको सम्बन्धित सरोकारवालाहरुले बताएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंहदरबारमा आज वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा सरोकारवालाहरूसँग भएको छलफलमा सहभागीहरूले सरकार र सम्बन्धित सरोकारवालाहरुबीचको आपसी सहयोग र समन्वयमार्फत नै वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन सकिनेमा जोड दिनुभयो ।

छलफलमा सहभागीहरूले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूलाई देखा पर्ने स्वास्थ्य समस्याहरू, मृत्युको कारण पहिचान तथा तथ्याङ्क सङ्कलनमा सरकारको कमजोर उपस्थिति रहेको पनि औँल्याउनुभयो ।

सो अवसरमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल स्वास्थ्य व्यवसाय संघ, वैदेशिक रोजगारीमा जानेहरूका लागि अभिमुखीकरण तालिम प्रदायक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले वैदेशिक रोजगारका सम्बन्धमा देखिएका आ आफ्नो क्षेत्रका समस्याहरूको चर्चा गर्नुभएको थियो ।

छलफलमा नेपाल स्वास्थ्य व्यवसाय संघ महासचिव कृष्ण बजगाईले वैदेशिक रोजगारीमा गएर फर्किनेमा ६८ प्रतिशत नेपाली नागरिकहरूमा नसर्ने रोगले ग्रसित भई फर्कने गरेको पाइएको बताउनुभयो ।

यस्तै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई अनावश्यक रुपमा स्वास्थ्य परिक्षण गराइने र यसको शुल्क वैज्ञानिक नभएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button