पहिलो चौमासिकमा पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात

भद्रपुर, झापा । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु १६ अर्ब बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ ।
चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म रु १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । गत आवको पहिलो चौमासिकको तुलनामा आयात १२.१२ प्रतिशत वृद्धि भएको छ ।
यस्तै, चालु आवको चार महिनामा रु ८ अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आ.व.को तुलनामा निर्यात ४.१२ प्रतिशतले घटेको छ । गत आवमा सोही अवधिमा रु ८ अर्ब ३० करोड २७ लाख ८७ हजार बराबरको सामान निर्यात भएको थियो ।
चार महिनाको अवधिमा कार्यालयले आयात र निर्यातबाट रु ५ अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । आयातबाट रू पाँच अर्ब ३३ करोड ६७ लाख ३८ हजार र निर्यातबाट रू १२ करोड ३४ लाख ६० हजार राजस्व सङ्कलन गरेको हो । राजस्व असुलीमा भने १५.६६ प्रतिशत अर्थात् ७३ करोड ९४ लाख ७५ हजार वृद्धि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्