तपाईँ सुन्दै हुनुहुन्छः

लाङटाङ दूत सिलवालको ‘एभरेस्ट’ अन्तर्राष्ट्रिय पर्वत सङ्ग्रहालयमा विमोचन

काठमाडौँ । अशोक सिलवालको ‘एभरेस्ट’ पोखरास्थित अन्तर्राष्ट्रिय पर्वत सङ्ग्रहालय (आईएमम)मा विमोचन भएको छ । 

‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’ ८ हजार मिटरभन्दा अग्ला विश्वकै ३ हिमाललाई पृष्ठभूमि पारेर माछापुच्छ्रे काखस्थित आईएमम परिसरमा विमोचन भएको हो । सहकर्मीहरूलाई साक्षी राखेर आईएममकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले ‘एभरेस्ट’ विमोचन गरेकी हुन् । 

‘रेकर्ड अनुसार विश्वका १ सय ५ देशका हिमाल, हिमाली जीवन र हिमाली संस्कृतिप्रेमी नागरिक यहाँ घुम्न आएका छन्’, म्युजियमको महत्व दर्शाउँदै लेखक र किताब दुवैलाई स्वागत गर्दै विमोचनका क्रममा निर्देशक न्यौपानेले भनिन्, ‘यस्तो हिमाली तीर्थस्थलमा लाङटाङ दूतसमेत रहनुभएका सिलवालजीको एभरेस्ट विमोचन हुनु आफैमा एउटा विश्व रेकर्ड हो, लेखकलाई बधाई छ । नेपालको पर्यटन प्रवर्द्धनमा तपाईँको योगदान सधैँ स्मरणीय रहनेछ ।’  

‘एभरेस्टको यो माउन्टेन म्युजियम विमोचन हो’, लेखक सिलवालले भने । ‘सत्कार, सम्मान र शब्दले यस्तो बनाइदिनुभयो कि नबोल्ने भन्दाभन्दै पनि नबोली नहुने बनाइदिनुभयो’, सिलवालले थपे, ‘किताब र लेखकप्रति म्युजियमले देखाएको अपार प्रेमप्रति धन्यवाद ।’ त्यसक्रममा सिलवालले केही प्रति एभरेस्ट म्युजियमको लाइब्रेरीलाई हस्तान्तरण पनि गरे । ‘यो हिमाली विश्व तीर्थस्थलको हिस्सा हुन पाउँदा एभरेस्ट अभिनन्दित भएको छ’, सिलवालले खुशी व्यक्त गरे । 

यसअघि ‘एभरेस्ट’ लाङटाङ क्षेत्रको झन्डै ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जीङमा सार्वजनिक भएको थियो । ‘किताब संसारको शिर सगरमाथामा आधारित भए पनि यो भुईँतिरको यात्रा हो, अनुभव र अध्यात्मको यात्रा हो’, नेपाल गाइड सिलवालले भने । 

‘एभरेस्ट’ सिलवालको पाँचौँ पुस्तक हो । सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’, यात्राका तीतामीठा समेटिएको ‘श्रीलङ्का स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश किताब ‘अप्प दीपो भवः’ प्रकाशित छन् । 

पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button