लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान जारी : दाइजोमा सोफा मागेको विवादमा रोशनीले भने गुमाई ज्यान
जनकपुरधाम । रोशनी झा हत्याकाण्डको निष्पक्ष छानबिनको माग गर्दै पीडित पक्ष आज जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ कटैया चौरी घर भएका प्रशान्त मिश्रका श्रीमती रोशनी झा को गत बिहीबार राति मृत्यु भएपछि उनको मृत्यु शङ्कास्पद रहेको भन्दै मृतकको माइती पक्षले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा धर्ना प्रदर्शन गरेको हो ।
मृतकले आत्महत्या गरेको भनिए पनि मृतकको घरका पक्षले मृतकको मेडिकलको महत्त्वपूर्ण कागजपत्रहरू जलाएको, मृत्युको कारणहरू फेरिरहेको भन्दै मृत्यु शङ्कास्पद रहेको पिडित पक्षका मामा प्रदीप कुमार चौधरीले बताउनुभयो । उहाँले बिहीबार नै जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएको बताउनुभयो ।
केही वर्ष अघि ९ लाख नगद सहित विवाह गरेको र केटाको घर निर्माणका लागि पुनः १५ लाख रकम दिएको माईती पक्षले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान् प्रशान्त मिश्रलाई नियन्त्रणमा लिएको छ । सोफा मागेको विषयमा विवाद हुँदा नै आफै आत्महत्या गरेको मृतकका श्रीमान् प्रशान्तले प्रहरीलाई प्रारम्भिक बयान दिएको छ । मिश्र मधेश प्रदेशका नीति तथा योजना आयोगमा शाखा अधिकृतमा कार्यरत छन् ।
भवितव्यका कारणले मृत्यु भएको भए छिमेक वा आफन्तलाई जानकारी नदिईकन घटना लगतै नीजि अस्पतालमा लगेर ईसिजि गराएको तर गलत रिपोर्ट बनाउने काम भएको पिडित पक्षले जनाएको छ । रोशनीको घरमा नै मृत्यु भएको भएपनि गलत रिपोर्ट बनाएको साथै मृतकका शव हतारमा जलाएका कारण घटना शङ्कास्पद भएको माइती पक्षका आरोप रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्