बीरगंज भन्सार नाकाबाट ४ महिनामा ८ अर्ब ५९ करोड बढिको खाद्यान्न आयात
वीरगञ्ज। मुलुकको प्रमुख भन्सार नाका बीरगंज भन्सार (आईसिपी) हुँदै आर्थिक बर्ष २०८२/०८३ को ४ महिनामा ८ अर्ब ५९ करोड ४ लाख ६२ हजार मूल्य बराबरको धान, चामल, मकै , कोदो लगायतका खाद्यान्न भित्रिएको छ ।
बीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८१/०८२ को ४ महिनामा ३ अर्ब १५ करोड ६३ लाख २० हजार मूल्य बराबरको धान भित्रिएको छ भने सो अवधिमा १ अर्ब ५२ करोड ८० लाख ९० हजार मूल्य बराबरको चामल भित्रिएको छ ।
त्यसैगरी बीरगंज भन्सार आईसिपी नाकाबाट साउन, भदौ, असोज, र कार्तिक महिनामा ३ अर्ब ३५ करोड ६३ लाख २० हजार मूल्य बराबरको मकै भित्रिएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसैगरी बीरगंज नाकाबाट फापर, कोदोको पिठो लगायतका खाद्यान्न २५ करोड १६ लाख ४२ हजार मूल्य बराबरको भित्रिएको छ भने गहुँ १५ करोड ८० लाख ९० हजार मूल्य बराबरको भित्रिएको छ ।
धान चामल, मकै, गहुँ, कोदो, फापर लगायतका खाद्य सामग्रीको आयातबाट बीरगंज भन्सारले ६३ करोड ६१ लाख ५५ हजार राजस्व असुली गरेको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक बिष्णु ज्ञवालीले जानकारी दिनुभयो ।
गत बर्ष २०८१/०८२ को सो अवधिमा बीरगंज नाकाबाट ५ अर्ब ८६ करोड २ लाख १५ हजार मूल्य बराबरको धान, चामल, मकै, फापर कोदो तथा गहुँ लगायतका खाद्यान्न भित्रिएको र सो बापत ४३ करोड ३८ लाख ८५ हजार राजस्व असुली भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्