तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा ३६ जोडीको निःशुल्क (आदर्श) विवाह सम्पन्न

जनकपुरधाम। श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवको अवसरमा जनकपुरधाममा ३६ जोडी युवक–युवतीको निःशुल्क विवाह कार्यक्रम गए राति सम्पन्न भएको छ ।

विश्व हिन्दू परिषद् धनुषाको आयोजनामा जनकपुरधामको ऐतिहासिक मणिमण्डप क्षेत्रमा उक्त विवाह सम्पन्न गरिएको हो । सोही स्थलमा भगवान श्रीराम र माता सीताको शुभ विवाह भएको धार्मिक मान्यता रहेको छ ।

विवाहमा हुने अनावश्यक खर्च र तडक–भडक कम गर्ने उद्देश्यले परिषद्ले विगत केही वर्षदेखि विवाहपञ्चमीको अवसरमा निःशुल्क विवाह कार्यक्रम सञ्चालन गर्दै आएको परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले जानकारी दिनुभयो ।

कार्यक्रममा गरिब तथा विपन्न वर्गका युवक–युवतीलाई प्राथमिकताका साथ सहभागी गराइन्छ । यसमा लाग्ने सम्पूर्ण खर्च दाताको सहयोगमा परिषद्ले नै बेहोर्दै आएको छ ।

बेहुला–बेहुलीको छनोट दुवै पक्षका अभिभावकको स्वीकृति तथा कानुनी उमेर पुगेको प्रमाणका आधारमा औपचारिक फाराम भरेर गरिने गरिएको छ ।

यस विवाहमा बेहुला–बेहुली पक्षबाट कुनै पनि खर्च लाग्दैन । विवाहका लागि आवश्यक सुनको मंगलसूत्र, औँठी, कपडा, जुत्ता तथा अन्य सामग्री परिषद्ले नै उपलब्ध गराउने गरेको छ । साथै दुवै पक्षका जन्तीका लागि खाने र बस्ने व्यवस्था पनि संस्थाले नै व्यवस्थापन गर्दछ ।

कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले यस्ता निःशुल्क विवाहले समाजमा अनावश्यक खर्च र आडम्बर घटाउन सहयोग पुर्‍याउने बताउनुभयो । विवाह समारोहमा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button