तपाईँ सुन्दै हुनुहुन्छः

बीएसएल सुपर लिग साउथ जोन स्टार्सद्वारा वीरगंज रोयल्स ११ रनले पराजित 

वीरगंज । वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा सञ्चालन भइरहेको वीरगंज सुपर लिग (बीएसएल) को चौथो संस्करणअन्तर्गत आजको खेलमा साउथ जोन स्टार्सले वीरगञ्ज रोयल्सलाई ११ रनको झिनो अन्तरले पराजित गरेको छ ।

टस हरेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको साउथजोन स्टार्सले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर १४४ रनको योगफल बनायो । उसको सुरुवात राम्रो रहेको थियो । ओपनर राकेश कमैतले १४ बलमा ४ चौकाको सहयोगमा २१ रन जोडे भने अकिब अन्सारीले ३० बलमा २९ रन र हासिम अन्सारीले २७ बलमा २८ रन बनाए । तर मध्यक्रम सेराजुल आलमले गरेको १४ बलमा २७ रनको योगदान दिन बाहेक अन्य ब्याटरहरू चल्न नसक्दा टिमले ठुलो स्कोर बन्न सकेन ।

वीरगञ्ज रोयल्सका सोहेल शेखले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र २४ रन खर्चेर ३ विकेट लिए भने अरबाज आलमले २ विकेट लिए ।

१४५ रनको विजयी लक्ष्य पछ्याएको वीरगञ्ज रोयल्सले पनि राम्रो सुरुवात गरेको थियो । सोनु शर्माले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए भने आदर्श भण्डारीले २६ बलमा  २ चौका र १ छक्काको २५ रन जोडे । त्यस्तै संजन महतोले १२ बलमा २४ रन जोडे पनि अन्य ब्याटरहरूले अपेक्षित प्रदर्शन नगर्दा खेल रोयल्सहरुको हातबाट बाहिर गयो ।

साउथजोनका स्टार बलर राहुल अन्सारीले घातक स्पेल फाल्दै ४ ओभरमा केवल २५ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए । हासिम अन्सारी, रामआशिष महतोले पनि १÷१ विकेट लिँदा रोयल्स २० ओभरमा ७ विकेटको क्षतिमा १३३ रनमै सीमित भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button