तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन फागुन २१ मा हुने: मन्त्री खरेल

दोलखा । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले तोकिएकै मिति फागुन २१ मा निर्वाचन हुने बताउनु भएको छ । राजनीतिक दलहरू पनि तयार छन्, निर्वाचन आयोगले पनि सबै तयारी गरिसकेको छ त्यसैले तोकिएकै मितिमा निर्वाचन हुने कुरामा कुनै आशङ्का छैन– मन्त्री खरेलले भन्नु भयो ।

नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै सञ्चार मन्त्री खरेलले मतदाता नामावलीमा नाम दर्ता गर्ने काम उत्सवको रुपमा अघि बढेको समेत बताउनु भयो । मन्त्री खरेलले भन्नु भयो– मतदाता नामावलीमा नाम दर्ता गर्ने काम उत्सवको रुपमा अघि बढेको छ, आठ लाख भन्दा बढी मतदाता थपिएका छन् ।

मन्त्री खरेलले कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्न नभनेको र सरकार सुरक्षाको लागि सहयोगी रहेकोले निर्वाचन हुने कुरामा कुनै आशङ्का नरहेको बताउनु भयो । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला दोलखा आउनु भएका मन्त्री खरेल स्वागत तथा सम्मानबाट उत्साहित बन्नु भएको थियो । उहाँले दोलखाको विकासको लागि पर्यटनको विकास महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै यसको नेतृत्व स्वतन्त्र संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासङ्घले लिनुपर्ने बताउनु भएको थियो ।

आइतबार गृहजिल्ला दोलखा आउनु भएका मन्त्री खरेलले जिल्ला स्थित कार्यालय प्रमुखहरूसँग भेटघाट गर्नु भएको थियो । मन्त्री खरेल आफूले अध्ययन गरेको दोलखाको कालिन्चोक गाउँपालिका स्थित कालिनाग माध्यमिक विद्यालय सुनखानीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा समेत सहभागी हुनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button