कास्कीमा २ लाख ९३ हजार मतदाता
कास्की । प्रदेश निर्वाचन कार्यालय गण्डकीका अनुसार असोज ९ देखि मङ्सिर ५ सम्मको छोटो अवधिमा कास्कीमा १७ हजार ८ सय ९४ जना नयाँ मतदाता थपिएका छन् । यो वृद्धिसँगै जिल्लामा कुल मतदाताको सङ्ख्या ३ लाख ११ हजार ७ सय ५६ पुगेको छ । यसअघि कास्कीमा महिला १ लाख ५३ हजार ४ सय ६८, पुरुष १ लाख ४० हजार ३ सय ९० र अन्य ४ गरी कुल २ लाख ९३ हजार ८ सय ६२ मतदाता पुगेका छन् ।
नयाँ थपिएका मतदातामध्ये नियमित प्रक्रिया कार्यालयमै पुगेर ९ हजार ६ सय ९७ जना थपिएका हुन् । यो सङ्ख्या महिला/पुरुषको हो । त्यसमा १ जना अन्य लैङ्गिक समुदायका व्यक्ति छन् ।
यसका अतिरिक्त राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक तथ्याङ्क प्रयोग गरी ८ हजार १ सय ९७ जना मतदाता सूचीमा समेटिएको प्रदेश निर्वाचन कार्यालयका रुद्र न्यौपानेले जानकारी दिनुभयो । यो अवधिमा ७ सय ५ जनाले नामावली स्थानान्तरण (ठाउँसारी) गरेका छन् भने ३ सय ५२ जनाले विवरण सच्याएका छन् ।
‘सुरुवाती दिनहरूमा त ९० प्रतिशत नै युवाहरू थिए, अन्तिम समयमा मात्र केही अन्य उमेर समूहका छुटेका मतदाता आएको’ न्यौपाने बताउनुहुन्छ । देशभर साढे आठ लाख मतदाता थपिँदा कास्कीमा देखिएको यो उत्साहले आगामी चुनावमा युवा मत निर्णायक हुने सङ्केत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्