तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाटमा शिक्षकलाई शैक्षिक गुणस्तर सुधारका लागि ब्यावहारिक उत्प्रेरणा तालिम

नवलपरासी, बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरूलाई उत्प्रेरणा तालिम सञ्चालन गरेको छ। ६ गतेबाट सुरु भएको तालिम ८ गतेसम्म सञ्चालन हुनेछ।

तालिममा शिक्षक र विद्यार्थीका लागि प्रार्थना व्यवस्थापन, व्यवहारिक शिक्षा र विद्यार्थी–अभिभावक सम्बन्धजस्ता विषयमा जानकारी दिइएको थियो। प्रशिक्षक हरिश ओलीले तालिम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले शिक्षणलाई फरक अभ्यासबाट अगाडि बढाउनुपर्ने र शिक्षण पेशालाई सम्मानित बनाउँदा मात्रै शिक्षकहरूको मनोबल र शैक्षिक गुणस्तर सुधार हुने बताउनुभयो। नगरप्रमुख शम्भुलाल श्रेष्ठले तालिम नगरको १२ अभियान अन्तर्गत आयोजना गरिएको र यसले शिक्षकहरूको सकारात्मक ऊर्जा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

गङ्गा माबीका प्रधानाध्यापक भुपेन्द्र रिजालले तालिमबाट धेरै जानकारी प्राप्त भएको र थप उर्जा मिलेको बताए भने उपप्रमुख रुद्र प्रकाश उपाध्यायले तालिमले विद्यार्थीमा असल संस्कृतिको विकास हुने विश्वास व्यक्त गर्नुभयो।

नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यार्थीलाई पढाउने होइन, सिकाउने उद्देश्यका साथ व्यवहारिक शिक्षा र उत्प्रेरणा तालिमको आयोजना गरेको हो। नगरप्रमुख श्रेष्ठले सम्पूर्ण नगरवासीलाई शैक्षिक गुणस्तर वृद्धिमा सक्रिय हुन आग्रह गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button