तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा क्याथ ल्याब प्रभावकारी बन्दै,चार महिनामै ३ सय ४० जनाले सेवा लिए

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित क्याथ ल्याब सेवा प्रभावकारी बन्दै गएको छ । पश्चिम नेपालमा मुटु रोगको सुरक्षित, छरितो र प्रभावकारी उपचारका लागि भेरीमा सञ्चालनमा रहेको क्याथ ल्याब सेवा पछिल्ला वर्षयता अत्यन्तै महत्वपूर्ण बनेको हो । कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लास्टि, पेसमेकर जडानदेखि पेरिकार्डियोसिन्टेसिस सम्मका जटिल प्रक्रिया यही क्याथ ल्याबमार्फत सफलतापूर्वक भइरहेको मुटु रोग विभागले जनाएको छ ।

अस्पतालका मुटु रोग विशेषज्ञ एसोसिएट प्रोफेसर डा. विकास नेपालका अनुसार भेरी अस्पताल नेपालगन्जमा सञ्चालनमा रहेको क्याथ ल्याब सेवाका कारण पश्चिम नेपालका मुटुरोगी बिरामीलाई काठमाडौँ वा भारत धाउनुपर्ने अवस्था उल्लेख्य रूपमा घटेको छ । लामो समयदेखि भेरी अस्पतालमा मात्र क्याथ ल्याब सेवा उपलब्ध भए पनि अहिले सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा पनि यो सेवा सुरु भइसकेकाले बिरामीलाई उपचारमा सहज बनेको छ । बुटवल पश्चिममा अहिले भेरी अस्पतालसँगै नेपालगन्जस्थित सञ्जीवनीले सेवा दिइरहेका छन् भने कैलालीस्थित अत्तरिया अस्पतालले पनि मुटुरोगीहरुको सहज उपचारका लागि यो सेवा सुरु गरेको छ ।

चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म ३४० मुटु रोगीले क्याथ ल्याब सेवा लिएका छन् । उनीहरूमध्ये २१५ जनाले कोरोनरी एन्जियोग्राफी, १०० जनाले स्टेन्ट राखेर गरिने एन्जियोप्लास्टि, १ जनाले बलुन एन्जियोप्लास्टि, ९ जनाले अस्थायी पेसमेकर, ८ जनाले स्थायी पेसमेकर, ५ जनाले पेरिकार्डियल फ्लुइड निकाल्ने जीवनरक्षक सेवा, १ जनाले रेनल एन्जियोग्राफी सेवा लिएका छन् । डा. नेपालका अनुसार मुटुको धमनी अवरुद्ध हुँदा हुने जटिल अवस्थाको तत्काल उपचार यही क्याथ ल्याबमै सम्भव भएकाले धेरै बिरामीको ज्यान बचाउन सफल भएको छ ।

भेरी अस्पतालमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, दार्चुला लगायतका जिल्लाबाट मुटुरोगी भेरी अस्पतालमा आउने क्रम बढ्दो छ । सस्तो र गुणस्तरीय सेवा, अनुभवी विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र उपलब्ध स्रोत साधनका कारण भेरी अस्पताल पश्चिम नेपालका मुटुरोगीको प्रमुख आश्रयस्थल बनेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button