तपाईँ सुन्दै हुनुहुन्छः

सत्र करोडमा पक्की पुल निर्माण

खोटाङ । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगरलगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भएको छ । 

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको १४८ मिटर लामो मोटरेबल पक्की पुल हालसम्म खोटाङमा बनाइएका पक्की पुलमध्ये सबैभन्दा लामो पुल हो । 

जन्तेढुङ्गा गाउँपालिका–१ देवीस्थान र बराहपोखरी गाउँपालिका–५ को पौवसेराको बीचमा रहेको बुवाखोलामा मोटरेबल पक्की पुल निर्धारित समयभन्दा पहिलै सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयले सहज र सुरक्षित आवागमनको अनुभूति गरेका छन् । मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएपछि खोटाङका दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनजीवनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । 

बुवाखोलाको मोटरेबल पुल सञ्चालनमा आएपछि खोटाङका बासिन्दालाई पूर्वी तराईका जिल्ला आवतजावत गर्न लामो बाटो र जोखिमपूर्ण नदी पार गर्नुपर्ने बाध्यतासमेत अन्त्य भएको जन्तेढुङ्गा गाउँपालिकाका नेपाली कम्युनिष्ट पार्टीका नेता वीरबल किरातीले बताउनुभयो । नेता किराँती अनुसार यो पुल बनेपछि स्थानीयहरू उदयपुरको बेलटार हुँदै धरान, विराटनगर, इटहरी, सुनसरी, मोरङ र झापा छोटो दुरीमै पुग्न सक्नेछन् । 

भौतिक पूर्वाधार विकास मन्त्रालयसँग विसं २०८१ वैशाख ३० गते भएको सम्झौतामा बुवाखोला मोटरेबल पक्की पुल निर्माण सम्पन्न गर्ने अन्तिम विसं २०८३ कात्तिक २१ गतेसम्म तोकिएको थियो । निर्माण कम्पनी जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले बुवाखोला मोटरेबल पक्की पुल यसअघि नै सम्पूर्ण निर्माणको काम पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । 

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको बङ्शिलाघाट–देवीस्थान–चिसापानी सडकखण्डमा पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल बनेपछि साना–ठूला सवारी सहजै गुड्न थालेपछि दैनिक जीवन, बजार आपूर्ति र सेवा सुविधामा ठूलो सहजता भएको छ । प्रदेश सरकारअन्तर्गत यो आयोजना पूर्वाधार विस्तारको महत्वपूर्ण उपलब्धि मानिएको छ ।

बुवाखोला मोटरेबल पक्की पुलमार्फत पालिकालाई प्रदेश राजधानी विराटनगरसँगको आर्थिक तथा प्रशासनिक केन्द्रहरूसँग जोड्ने योजना पूरा भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ ले बताउनुभएको छ । “पुल बनेपछि स्थानीय किसान, व्यापारी, विद्यार्थी र बिरामी सबैका लागि दैनिक जीवनमा ठूलो सहजता आउने अपेक्षा गरिएको छ । कृषि उत्पादन छिटो तराईका बजारमा पु¥याउन सकिने, विद्यार्थी तथा रोजगार खोज्ने युवालाई यात्रा छोटो र सहज हुने, बिरामीलाई आपतकालीन अवस्थामा धरान वा विराटनगरका अस्पतालमा पु¥याउन सहज भएको छ”, उहाँले भन्नुभयो, “यो पुल हाम्रो गाउँपालिकाको समृद्धिको ढोका हो । तोकिएको समयभन्दा अगाडि नै पुल सञ्चालनमा आएपछि त्यो समृद्धिको ढोका खुलेको छ ।”

जिल्लाको दक्षिणी क्षेत्रमा क्रियाशील स्थानीय राजनीतिक नेतृत्व बुवाखोला पुल निर्माणप्रति सकारात्मक बनेका छन् । नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले पक्की पुल निर्माणसँगै बङ्शिलाघाटमा बन्ने बेलिब्रिज सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका बासिन्दालाई सहज भएको जानकारी दिनुभएको छ । 

बुवाखोला मोटरेबल पक्की पुल निर्माणका लागि सम्झौता गरेको सात महिनापछि विसं २०८१ मङ्सिर–६ गते कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गर्नुभएको थियो । तोकिएको समयभन्दा वर्ष दिन अघि नै निर्माण सम्पन्न भएको यो मोटरेबल पुल आज मन्त्री राईले नै औपचारिक उद्घाटन गर्ने कार्यक्रम राखिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिनुभयो । 

नेपालमा निर्माण व्यवसायीका विरुद्ध ‘जिम्मा लिएको काममा ढिलाइ गर्ने, काम अलपत्र पार्ने’ भन्ने आलोचना सामान्य छ । बुवाखोला मोटरेबल पुल निर्माण कम्पनीका प्रतिनिधि महेश रेग्मीको टिमले तोकिएको अवधिभन्दा वर्ष दिनअघि नै सम्पन्न गरेर उदाहरणीय काम गरेका छन् । स्थानीयले यो कामको प्रशंसा गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button