तपाईँ सुन्दै हुनुहुन्छः

तराईमा बढ्दो आधुनिकता पहाडमा पनि विस्तार, इलामका किसान धान झार्ने मेसिनतर्फ आकर्षित

इलाम । तराईमा तीव्र रूपमा फैलिएको आधुनिक कृषि प्रविधि पहाडी क्षेत्रमा अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । अहिले पनि धेरै किसान परम्परागत विधिबाटै खेती गर्दै आएका छन्, तर पछिल्लो समय पहाडी गाउँहरूमा आधुनिक उपकरणहरूको प्रयोग क्रमशः बढ्दै गएको छ।

इलामको फाकफोकथुम गाउँपालिका–३ सल्लेरीमा धान झार्ने मेसिन सञ्चालनमा आएपछि स्थानीय किसानहरूको दैनिकी सहज बनेको छ। पहिले लाठे (बलियो व्यक्ति) खोजेर मुठा कुट्दै धान झार्नुपर्ने बाध्यता थियो। अहिले भने मेसिनले त्यो काम छिटो र सरल बनाइदिएको छ।

पत्रकारसमेत रहेका किसान भगीरथ भण्डारी अहिले खेतमै उभिएर सहज रूपमा मेसिन चलाइरहेका छन्।
“गाउँ–गाउँमा मजदुर भेटिँदैन, काम गर्ने युवा विदेश छन्,” भण्डारी भन्छन्, “त्यसैले प्रविधिले खेती निकै सजिलो बनाइदिएको छ।”

उनका अनुसार मेसिनले श्रम बचत, समयको सही प्रयोग र उत्पादनमा सुधार ल्याएको छ। पहिले मजदुर अभावका कारण धान झार्न ढिलाइ हुने र बाली नोक्सानको जोखिम बढ्ने गर्थ्यो। अहिले भने काम समयमा हुने भएकाले किसानहरू प्रविधिमैत्री बन्न थालेका छन्।

इलाम कृषिविजका सञ्चालक पशुपति भट्टराईका अनुसार सुरुमा ल्याइएका दुई थान मेसिनबाटै माग बढ्न थालेपछि थप १० वटा भित्र्याइए, हालसम्म १२ वटा मेसिन बिक्री भइसकेका छन्।उनका अनुसार खेत जोत्नका मेसिनको माग बढेकै बेला अब धान झार्ने मेसिन पनि सिजनमा उल्लेख्य रूपमा लोकप्रिय बन्दै गएको छ।

फाकफोकथुम क्षेत्रमा यस्ता प्रविधिको विस्तारले खेतीपातीमा सकारात्मक परिवर्तन ल्याएको किसानहरूको धारणा छ। स्थानीय सरकार आधुनिक कृषि उपकरण प्रवर्द्धनमा सक्रिय भए पहाडी कृषि अझ सहज, व्यावसायिक र टिकाउ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button