तपाईँ सुन्दै हुनुहुन्छः

सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन मन्त्री खरेलको निर्देशन 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तरगतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ । 

आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज मन्त्रालयमा बसेको बैठकमा मन्त्री खरेलले सुरक्षण मुद्रण केन्द्रले सवारी अनुमति पत्र छाप्न थालेसँगै सर्वसाधारणलाई वितरण गर्न पनि आग्रह गर्नुभयो । 

सबै मन्त्रालयलाई पेपरलेस बनाउने काम माघ महिनाभित्र सक्न पनि मन्त्री खरेलले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

त्यसैगरी मन्त्री खरेलले  सहज रुपमा आम नागरिकले पाउने सेवामा कुनै पनि ढिलासुस्ती नगर्न मन्त्रालयअन्तर्गतका निकायहरूलाई निर्देशन दिनुभयो । 

बैठकमा मन्त्रालयका सचिव राधिका अर्यालले सरकारी काम कारबाहीमा कमजोरी भएका कारण वर्तमान परिस्थितको सिर्जना भएकाले नयाँ शैली र प्रविधिमार्फत  गतिशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सार्वजनिक सेवा प्रसारण नेपालका  अध्यक्ष डा. महेन्द्र विष्ट, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, राससका महाप्रबन्धक सन्दीप राई लगायतले संस्थाले हासिल गरेका प्रगति वितरण प्रस्तुत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button