तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री नियुक्तिमा असन्तुष्ट ७ दलद्वारा सर्लाहीमा खबरदारी जुलुस 

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा ७ राजनीतिक दलले असंवैधानिक मुख्यमन्त्री र सभामुखको असंवैधानिक कदम लेखिएको ब्यानर सहित खबरदारी जुलुस निकालेको छ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति र सभामुख विरुद्ध ७ राजनीतिक दलले आन्दोलन जारी राखेका छन् ।

मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको र सभामुखले पदीय आचरण विपरीत कार्य गरेको विरोधमा राजनीतिक दलहरूले खबरदारी जुलुस निकालेका हुन् । शनिवार पनि मुख्यमन्त्री नियुक्तिमा असन्तुष्ट रहेका ७ राजनीतिक दलहरूले सर्लाही सदरमुकाम मलंगवामा मसाल जुलुस निकालेका  थिए । 

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरी २४ गते एक होटलमा शपथ गराउनुभएको थियो । 

सात दलले ७४ जना प्रदेश सभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ को आधारमा बहुमतीय सरकार बनाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए तर उपधारा २ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै गलत नियतले उपधारा ३ प्रयोग गरेर एमालेको नेतृत्वमा सरकार बनाएको भन्दै ७ दलका नेताहरू विरोध प्रदर्शनमा उत्रेको नेकपा माओवादीका महाधिवेशन आयोजक समिति सदस्य प्रमोद साहले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button